रोहित पौडेलको उत्कृष्ट प्रदर्शन, लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले कप्तान रोहित पौडेलको सानदार प्रदर्शनको मद्दतले चितवन राइनोजलाई १६८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
चितवनले टस जितेर ब्याटिङको निम्तो दिएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनायो। प्रतियोगिताको सर्वाधिक रनकर्ता रोहितले ५७ बलमा ८० रनको आकर्षक इनिङ्स खेल्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका छन् । उनले ६ चौका र ५ छक्का प्रहार गर्दै क्यानडाका साद बिन जाफरसँग पाँचौं विकेटका लागि ७० बलमा ११४ रनको महत्वपूर्ण साझेदारी गरे।
रोहित तेस्रो बलमा आउट भएपछि जाफरले अन्तिमसम्म राम्रो प्रदर्शन गरे। उनले ३५ बलमा ४ चौका र १ छक्काको सहयोगमा ५२ रन बनाए।
चितवनका बलर रिजन ढकालले उत्कृष्ट सुरुआत दिलाउँदै आफ्नो पहिलो ओभरमै दुई विकेट लिए। उनले आशुतोष घिरोहियालाई १ रनमा र उन्मुक्त चन्दलाई शून्यमा बोल्ड गरे। रिजनले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिएका थिए ।
लुम्बिनीका लागि यो जित महत्वपूर्ण रहेको छ, किनकि टोलीले चार खेल गुमाइसकेको छ। प्लेअफ सम्भावना टुट्न नदिन टोलीलाई यो खेल जित्नैपर्ने दबाब छ। चितवनले भने चारमध्ये तीन खेल जितेर प्लेअफ सम्भावना बलियो बनाएको छ।
चितवनको खेलाडी परिवर्तनले पनि ध्यान तानेको छ। दीपक बोहराको स्थानमा नरबहादुर शार्की र हसन इसाखिलको स्थानमा लुक बेन्केन्स्टेनलाई टोलीमा सामेल गरिएको छ। लुम्बिनीले भने अस्ट्रेलियन बेन कटिङको स्थानमा भारतीय ब्याटर उन्मुक्त चन्दलाई मैदानमा उतारेको छ।
अब, चितवनले यो लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ। खेलको नतिजाले लिग तालिकामा महत्वपूर्ण प्रभाव पार्नसक्ने देखिन्छ। अहिले चितवन राइनोजले २ बलमा १ रन बनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस