Techie IT
२०८३ कार्तिक २, आइतबार

फ्रान्समा हिंसात्मक बन्दै आन्दोलन: ५ लाखभन्दा बढी सडकमा, १२ सयभन्दा बढी पक्राउ


पेरिसको प्लास दे ला रिपब्लिक क्षेत्रमा भएको कारमा आगजनी । Photo: Reuters

महँगी, जीवनयापनको बढ्दो लागत र विद्यालयहरूको दयनीय अवस्थालिएर फ्रान्समा सुरु भएको आन्दोलनले उग्र रूप लिएको छ। शनिबार राजधानी पेरिससहित देशका विभिन्न सहरहरूमा करिब ५ लाख ५० हजार नागरिक सडकमा उत्रिएपछि अवस्था निकै तनावग्रस्त बनेको छ।

प्रदर्शन हिंस्रक बन्दा फ्रान्सेली प्रहरीले १२ सयभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ भने देशका विभिन्न स्थानमा सार्वजनिक तथा निजी संरचनामा तोडफोड र आगजनीका घटना भएका छन्। शनिबार दिउँसोसम्म शान्तिपूर्ण देखिएको प्रदर्शन साँझ पर्दै जाँदा उग्र बनेको थियो। राजधानी पेरिसको ‘प्लास डे ला रिपब्लिक’ लगायतका प्रमुख क्षेत्रहरूमा प्रदर्शनकारी र दङ्गा नियन्त्रक प्रहरीबीच व्यापक झडप भएको थियो ।

उग्र भिडले ऐतिहासिक भवन, टाउन हल र व्यापारिक प्रतिष्ठानहरूलाई निशाना बनाउँदै आगजनी र लुटपाट मच्चाएको छ। लियों सहरमा रहेको प्रसिद्ध पर्यटन कार्यालयमा आगजनी हुँदा ऐतिहासिक भवनमा क्षति पुगेको छ भने लिमोज सहरको टाउन हलको आगो निभाउने क्रममा भवनको छानाको एक भाग भत्किएको छ। सेन्ट-इटिएन सहरमा एक युवकको ग्रेनेड पड्किएर हातै उडसमेत उडेको स्थानीय मेयरले पुष्टि गरेका छन्।

प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले हिंसा नियन्त्रणका क्रममा १५० भन्दा बढी सुरक्षाकर्मी घाइते भएको जानकारी दिएका छन्। प्रहरीले भिडलाई तितरबितर पार्न अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको थियो। लिल सहरमा एउटा एप्पल स्टोरभित्रै पसेर सामानहरू लुटिएका छन् भने पेरिसमा पसल र रेस्टुरेन्टहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

कसरी सुरु भयो आन्दोलन?
गत सेप्टेम्बरको अन्त्यतिर विद्यालयहरूमा शिक्षकको अभाव, जीर्ण भौतिक पूर्वाधार र अपर्याप्त बजेटको विरोध गर्दै सुरु भएको विद्यार्थी आन्दोलनले केही सातामै राष्ट्रिय रूप धारण गरेको हो। शनिबार यसमा ठूला ट्रेड युनियनहरूका साथै सन् २०१८ मा इन्धन करवृद्धिविरुद्ध शक्तिशाली आन्दोलन गरेको ‘येलो भेस्ट’ (Gilets Jaunes) समूहसमेत मिसिएपछि प्रदर्शनले व्यापक रूप लियो।

विद्यार्थी, अभिभावक, मजदुर र विभिन्न असन्तुष्ट समूहहरू एकै ठाउँमा उभिएपछि फ्रान्स सरकारका लागि यो ठूलो चुनौती बनेको छ। सरकारले ३ हजार अतिरिक्त अस्थायी शिक्षक नियुक्त गर्ने वाचा गरे पनि प्रदर्शन रोकिएको छैन।

राजनीतिक भविष्य र युरोपभर फैलँदो असन्तुष्टि
राष्ट्रपति इमानुएल म्याक्रोँको कार्यकाल आगामी वर्ष सकिँदै गर्दा र सन् २०२७ को अप्रिलमा राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा यो आन्दोलनलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सरकारले यो हिंसालाई राजनीतिक रूपमा प्रायोजित भएको बताए पनि विपक्षी दलहरूले भने सरकारको असफलता र चरम महँगी नै यसको मुख्य कारण भएको बताएका छन्।

फ्रान्समा देखिएको यो असन्तुष्टि केवल त्यहाँ मात्र सीमित छैन। यसै साता बेल्जियममा शिक्षा क्षेत्रको बेथिति र बढ्दो शुल्कविरुद्ध, इटालीमा जीवनयापन खर्च र युद्धविरोधी प्रदर्शन तथा पोर्चुगलमा आवास र न्यून ज्यालाविरुद्ध हजारौँ नागरिक सडकमा उत्रिएका छन्। यसले युरोपभर एउटै पुस्ता संस्थापन पक्ष र बढ्दो महँगीविरुद्ध सडकमा उत्रिएको संकेत गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट