महामन्त्री गगन थापाले रबिलाई जितेको सभापति देउवाको दाबी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगनकुमार थापाले सहकारीसम्बन्धी मुद्दामा जितेको दाबी गरेका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्दै देउवाले थापाले सहकारीको विषय उठाउँदा आफूले सुरुमै विश्वास नगरेको तर सदनमा प्रतिवेदन पेस भएपछि छक्क परेको बताए।
देउवाले थापाले सहकारीसम्बन्धी गहन अध्ययन गरेका कारण प्रभावकारी रूपमा कुरा उठाएको भन्दै धन्यवाद व्यक्त गरे। उनले भने, "सहकारीसम्बन्धी कुरा महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको रहेछ। मैले पत्याएकै थिइनँ, तर प्रतिवेदन पेस भएपछि उहाँले सही मुद्दा उठाउनुभएको थाहा पाएँ।"
सहकारी ठगीको मुद्दामा रवि लामिछानेको संलग्नता प्रमाणित भएको पनि देउवाले उल्लेख गरे। "रवि लामिछाने चलाख मान्छे रहेछन्, सहकारी ठगीमा उनको संलग्नता प्रमाणित भयो," देउवाले थपे।
कार्यक्रमको अन्त्यमा सभापति देउवाले जिल्ला स्तरमा संगठन विस्तार र आन्तरिक झगडा मिलाउन सक्रिय हुन पार्टीका नेताहरूलाई निर्देशन दिए।



तपाईको प्रतिक्रिया दिनुहोस