Techie IT
२०८३ कार्तिक १, शनिबार

उत्तर कोरियाले गर्‍यो एआई प्रविधियुक्त सुपर–स्पिड टारपीडो परीक्षण


उत्तर कोरियाले कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबाट लक्ष्य पहिचान गर्न र आक्रमणको मार्ग निर्धारण गर्न सक्ने नयाँ प्रकारको तीव्र गतियुक्त टारपीडो परीक्षण गरेको छ। यस परीक्षणले कोरियाली प्रायद्वीपमा जारी हतियारको होडबाजीलाई थप चम्काउने सङ्केत गरेको छ।

उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार बिहीबार ‘सुपर–स्पिड जाम–२.०’ नामक टारपीडोको पानीमुनि सफल परीक्षण गरिएको हो। प्योङयाङले पछिल्लो पाँच वर्षको अवधिमा यस प्रणालीको विकासका क्रममा १८० भन्दा बढी परीक्षण गरिसकेको जनाएको छ।

विश्लेषकहरूका अनुसार युक्रेनविरुद्धको युद्धमा रुसलाई सैन्य सहयोग गरेबापत मस्कोबाट प्राप्त हुन सक्ने प्रविधिक सहायताले उत्तर कोरियाको हतियार विकासलाई अझ गति दिन सक्छ। प्योङयाङले केही दिनअघि मात्रै पनडुब्बीबाट दुई प्रकारका क्रुज क्षेप्यास्त्र परीक्षण गरेको घोषणा गरेको थियो।

क्युङनाम विश्वविद्यालयका प्राध्यापक लिम युल–चुलका अनुसार एआई प्रविधिले टारपीडोलाई वास्तविक लक्ष्य र भ्रमित पार्न प्रयोग गरिने नक्कली लक्ष्यबीचको अन्तर छुट्याउन सक्षम बनाउँछ। उत्तर कोरियाले विशेष गरी अमेरिकी रणनीतिक सैन्य शक्तिलाई प्रभावहीन बनाउने उद्देश्यले टारपीडो र पनडुब्बीबाट प्रहार गरिने हतियारहरूमा लगानी तीव्र पारेको उनको विश्लेषण छ।

यसै महिनाको सुरुमा उत्तर कोरियाले एआईकै सहयोगमा सञ्चालित मध्यम दूरीको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको थियो। त्यसको लगत्तै दक्षिण कोरियाले पनि हाइपरसोनिक ग्लाइड वाहनको परीक्षण गर्‍यो। ध्वनिको गतिभन्दा पाँच गुणा तीव्र उड्ने र उडानकै क्रममा दिशा बदल्न सक्ने हाइपरसोनिक क्षेप्यास्त्रलाई राडारले पत्ता लगाउन र हावामै रोक्न अत्यन्त कठिन मानिन्छ।

उत्तर कोरियाले दक्षिण कोरियाको परीक्षण असफल भएको दाबी गरे पनि सियोलले त्यसलाई खण्डन गरिसकेको छ। उत्तर कोरियाली नेता किम जोङ उनले गत सेप्टेम्बरमै देशको समग्र हतियार प्रणालीमा एआईको प्रयोग व्यापक बनाउनुपर्नेमा जोड दिएका थिए।

नोभेम्बरमा चीनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङ उनबीच सम्भावित भेटवार्ताको चर्चा सुरु भएको छ। सियोलस्थित युनिभर्सिटी अफ नर्थ कोरियन स्टडिजका पूर्वअध्यक्ष याङ मू–जिनका अनुसार सम्भावित शिखर वार्ताअघि उत्तर कोरियाले दक्षिण कोरियाको तुलनामा आफ्नो हतियार प्रविधि निकै अगाडि रहेको देखाउने रणनीति अपनाएको हुन सक्छ।

यद्यपि, यो टारपीडो प्रणालीलाई पूर्ण रूपमा परिपक्व बनाउन उत्तर कोरियालाई अझै समय लाग्ने याङको भनाइ छ। पानीमुनि अत्यधिक गतिमा चल्दा टारपीडोले ठूलो आवाज निकाल्ने भएकाले शत्रु पक्षले सजिलै पत्ता लगाउन सक्छन्। उक्त आवाज कम गर्नु नै प्योङयाङका लागि प्रमुख प्राविधिक चुनौती बनेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट