प्रधानमन्त्री ओली र नरेन्द्र मोदीबीच आज साँझ ५:३० बजे अमेरिकामा भेटवार्ता हुने
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अमेरिकामा संयुक्त राष्ट्रसङ्घको महासभाको साइडलाइनमा भेटवार्ता हुने भएको छ। स्थानीय समयअनुसार साँझ ५ः३० बजे दुई नेताबीच भेटवार्ता तय भएको भए पनि समय तलमाथि हुन सक्ने सम्भावना रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
यो साइडलाइन वार्ता नेपालका तर्फबाट लामो समयदेखि प्रयासरत रहेको थियो। विशेष गरी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको सक्रियतामा वार्ता सम्भव भएको हो। यसअघि बिमस्टेक शिखर सम्मेलनको क्रममा थाइल्यान्डमा दुई प्रधानमन्त्रीबीच भेटवार्ता हुने तय भए पनि थाइल्यान्डको राजनीतिक अवस्थाका कारण उक्त बैठक स्थगित भएको थियो। अन्ततः अमेरिकामा भेटवार्ता गर्न दुई देशबीच समय मिलेको हो।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको छोटो अमेरिकी यात्रा र प्रधानमन्त्री ओलीले भारतका बारेमा लगातार दिइरहेको अभिव्यक्तिका कारण दुई देशका सम्बन्ध केही चिसिएका थिए। यसैकारण मोदीले भेटवार्तामा चासो नदेखाएको चर्चा पनि चलेको थियो। तर, यी सबै कठिनाइका बाबजुद, दुई प्रधानमन्त्रीबीचको वार्ता हुन लागेकाले यसलाई निकै महत्त्वपूर्ण मानिएको छ।
प्रधानमन्त्री ओलीले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नेछन्। त्यसअघि उनले महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गरिसकेका छन्। 'समिट अफ द फ्युचर' सत्रमा पनि प्रधानमन्त्री ओलीको सक्रिय सहभागिता रहनेछ, जहाँ विश्वव्यापी समस्याहरू र समाधानका उपायबारे छलफल हुनेछ।
यस वर्षको महासभाको नारा "कसैलाई पनि पछाडि नछाडौँ : सँगसँगै कार्य गर्दै शान्तिको प्रगति, दिगो विकास र मानव सम्मान" रहेको छ, जसमा नेपालले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
#KpShramaOli #NarendraModi



तपाईको प्रतिक्रिया दिनुहोस