माओवादी केन्द्र संस्थापन पक्षको दीपेश पुनलाई अखिल क्रान्तिकारीको अध्यक्ष बनाउने तयारी
नेकपा माओवादी केन्द्रको संस्थापन पक्षले सहकारी ठगीका अभियुक्त विद्यार्थी नेता दीपेश पुनलाई पार्टीको भ्रातृ संगठन अखिल क्रान्तिकारीको अध्यक्ष बनाउने तयारी गरिरहेको छ। हाल अखिल क्रान्तिकारीका महासचिव रहेका पुन, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् र उनी सहकारी ठगी प्रकरणमा धरौटीमा छुटेका अभियुक्त पनि हुन्।
गत वैशाखमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका उनी चार लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए। यद्यपि, उनका विरुद्धको मुद्दा अझै अदालतमा विचाराधीन छ। यसका साथै, सुन तस्करी र नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि उनको नाम मुछिएको छ। राजनीतिक पहुँचको बलमा प्रहरी अनुसन्धानबाट उन्मुक्ति पाएका दीपेशलाई माओवादी नेतृत्वले विद्यार्थी संगठनको नेतृत्व सुम्पिने तयारी गरेको हो।
विद्यार्थी नेताहरूको विरोध
अखिल क्रान्तिकारीभित्र केही नेताहरूले ठगी र तस्करी अभियोग लागेकालाई संगठनको महत्त्वपूर्ण जिम्मेवारी दिन नहुने भन्दै विरोध जनाएका छन्। "दीपेशलाई अध्यक्ष बनाउन राम्रो सन्देश नजाने" भन्दै पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउँदै आएका छन्। तर, संस्थापन पक्षले उनलाई अघि बढाउने संकेत दिएको छ।
अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन असोज १० देखि १४ गतेसम्म काठमाडौंमा हुने छ। यस सम्मेलनमा अध्यक्ष पदका लागि दीपेश पुनसँगै अन्य दर्जन बढी नेताहरू दौडधुप गरिरहेका छन्। अध्यक्षका आकांक्षीहरूमा नरेश रेग्मी, अच्युत भट्ट, मदन भुल, केशव रावल, जीपी मैनाली, ईन्द्र भुसाल लगायतका नाम छन्।
यस पटक टीके प्रथाबाट नभई खुला प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नुपर्ने आवाज पनि उठिरहेको छ। "खुला प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनुपर्छ" भन्ने संगठनभित्र ठूलो माग रहेको बताइएको छ। माओवादीका विद्यार्थी इन्चार्ज हिमाल शर्माले पनि सहमति नभए प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गरिने बताएका छन्।
विवादास्पद छवि र राजनीतिक प्रश्नहरू
दीपेश पुन सहकारी ठगी र सुन तस्करीको आरोपमा औपचारिक रूपमा दोषी ठहर नभएकाले कानुनी रूपमा अध्यक्ष पदका लागि अड्चन नभए पनि उनलाई नैतिक र राजनीतिक प्रश्नहरूको सामना गर्नुपरेको छ। संसदीय छानबिन विशेष समितिले उनलाई सहकारी अपचलनमा मुछिएको देखाएको छ भने सुन तस्करीको अनुसन्धानमा पनि उनको नाम जोडिएको थियो।
माओवादी नेतृत्वले यसपटकको सम्मेलनबाट विद्यार्थी संगठनलाई सशक्त बनाउन चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्ने सम्भावना रहेको बताएको छ, तर दीपेश पुनको अध्यक्ष चयनका विषयमा अझै विवाद कायम छ।



तपाईको प्रतिक्रिया दिनुहोस