दुर्गा प्रसाईं समर्थनमा ‘नागरिक बचाउ दल’ दर्ता, नेतृत्वमा खतिवडा
दुर्गा प्रसाईंको समर्थनमा गठन गरिएको नागरिक बचाउ दल निर्वाचन आयोगमा दर्ता प्रक्रियामा प्रवेश गरेको छ। आयोगमा माधव खतिवडाको नेतृत्वमा दर्ता गरिएको आयोग स्रोतले जनाएको छ।
प्रसाईं पछिल्ला महिनाहरूमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान सञ्चालन गर्दै आएका छन्। त्यही अभियानसँग मिल्दोजुल्दो नाममा दल दर्ता गर्न खोजिएको हो।
आइतबार पार्टीका केन्द्रीय सदस्यहरू सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित भएका थिए। दल दर्ताका लागि निवेदन दिने आज अन्तिम दिन हो। भोलिदेखि मंसिर १० गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय रहनेछ।
निर्वाचन आयोगले दर्ता प्रमाणपत्र प्राप्त भएपछि कागजात पूरा–अधूरो रहेको अवस्थाको मूल्यांकन गरी प्रक्रिया अघि बढाइने बताउँदै आएको छ। मंसिर १० गतेसम्म दर्ता प्रक्रिया पूरा गर्नेलाई आगामी निर्वाचनमा सहभागी हुने अधिकार रहनेछ।
प्रतिनिधि सभा निर्वाचन फागुन २१ गतेका लागि तोकिएको छ। प्रसाईं हाल सरकारले आफ्नो माग पूरा गर्नुपर्ने भन्दै आन्दोलनरत छन्। सरकारले भने उनीहरूलाई चुनावमा सहभागिता जनाएर लोकतान्त्रिक प्रक्रियाबाट अगाडि बढ्न सुझाव दिँदै आएको छ।
कात्तिक १४ गते प्रधानमन्त्री सुशीला कार्कीले सम्पादकहरूसँगको छलफलमा झापामा परम्परागत नेताहरू कमजोर देखिएको र दुर्गा प्रसाईं चुनावी प्रतिस्पर्धाका लागि उभरिन सक्ने सम्भावना रहेको टिप्पणी गरेकी थिइन्।
यसअघि कात्तिक २६ गते गृह मन्त्रालयमा प्रसाईं नेतृत्वको महाअभियान र सरकारबीच वार्ता भएको थियो। वार्तामा प्रसाईं पक्षले ७ मंसिरबाट हुने आन्दोलन शान्तिपूर्ण रहने तथा दल दर्ता गरेर चुनावमा जाने अठोट व्यक्त गरेको थियो।
आइतबार प्रसाईं समर्थित दलका नेताहरू सनाखतका लागि पुनः निर्वाचन आयोग पुगेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस