Techie IT
२०८३ असार २६, शुक्रबार

एमालेभित्र फरक मत उठ्न नदिन नेतृत्वको नयाँ रणनीति


शंकर पोखरेल

एमालेभित्र फरक मत उठ्न नदिन नेतृत्वले नयाँ रणनीति अघि सारेको छ। पार्टीभित्रका असन्तुष्ट नेताहरूले भदौ २३ को ‘जेनजी आन्दोलन’सम्म नेपाली समाज त्यहाँसम्म कसरी पुग्यो भन्ने विषयमा समीक्षा गर्न र निकास खोज्न छुट्टै प्रतिवेदन ११औँ राष्ट्रिय महाधिवेशनमा लैजान तयारी गरिरहेका बेला संस्थापन पक्षले महाधिवेशनलाई नेतृत्व चयनमा मात्र केन्द्रित हुने प्रचार तीव्र पारेको छ।

एमाले महासचिव शंकर पोखरेलले ११औँ राष्ट्रिय महाधिवेशन नेतृत्व चयनमै केन्द्रित हुने स्पष्ट पारेका छन्। नेपाल निर्माण उद्योग परिषद्को प्रथम राष्ट्रिय भेलामा आज उनले ललितपुरको गोदावरीमा भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पार्टीका नीति तथा विधि निर्माण गरिसक्ने भएकाले अब नेतृत्व निर्माण नै आगामी महाधिवेशनको मुख्य केन्द्रबिन्दु हुने बताएका थिए ।

‘गोदावरीमा सम्पन्न दोस्रो विधान महाधिवेशनले हाम्रो नीति बनाइसकेको छ । त्यसमा कसैले असहमति जनाएका छैनन्,’ पोखरेलले भने, ‘ललितपुरमा बसेको केन्द्रीय समिति बैठकले जेनजी आन्दोलनबारे पनि पार्टीको दृष्टिकोण बनाइसकेको छ। त्यसैले अब ती नीति–विधिमा पुनः छलफल आवश्यक छैन, महाधिवेशन नेतृत्व चयनमै केन्द्रित हुन्छ।’

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि महाधिवेशन आफ्नो निर्देशनात्मक मन्तव्यपछि बिना छलफल सकिने दाबी गरेका थिए। उद्घाटन मन्तव्य बाहेक कुनै पनि विषयमा छलफल नहुने उनको भनाइ संस्थापन पक्षले अहिले मुख्य एजेन्डा जस्तै अघि सारिरहेको छ।

एमालेको महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने तय भएको छ। महासचिव पोखरेलले बलियो राजनीतिक शक्ति निर्माण सही नीति, कार्यक्रम र प्रभावकारी नेतृत्वबाट मात्र सम्भव हुने बताए। संविधान र कानुनअनुसारको राज्य निर्माणमा एमाले प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले वर्तमान असामान्य परिस्थितिमा विशेष संगठनात्मक योजना सहित पार्टी अघि बढिरहेको जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट