अमिताभ र आयुष्मानपछि सैफ अली खानलाई ज्यान मार्ने धम्की
बलिउड अभिनेता सैफ अली खानलाई ज्यान मार्ने धम्की आएको छ । भारतको चर्चित बाबा सिद्दिकी हत्या प्रकरणमा फरार रहेका अभियुक्त जिशान अख्तरको नामबाट भ्वाइस म्यासेज पठाउँदै उनलाई ज्यान मार्ने चेतावनी दिइएको हो ।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार सैफलाई पठाइएको भ्वाइस म्यासेजमा ‘उनको पनि बाबा सिद्दिकीको जस्तै हालत हुनेछ’ भन्दै गम्भीर धम्की दिइएको छ ।
धम्कीबारे जानकारी बाहिरिएलगत्तै मुम्बई प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान सुरु गरेको छ । यद्यपि, उक्त सन्देश वास्तवमै जिशान अख्तरले पठाएका हुन् वा कसैले उनको नाम दुरुपयोग गरेको हो भन्ने पुष्टि भइसकेको छैन । प्रहरीले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गरी अख्तरको आवाज नक्कल (भ्वाइस क्लोनिङ) गरेर धम्की दिइएको हुन सक्ने कोणबाट समेत भ्वाइस म्यासेजको प्राविधिक परीक्षण र स्रोत पहिचान गरिरहेको छ ।
पछिल्लो समय बलिउड कलाकारहरूलाई लक्षित गरी धम्की आउने क्रम तीव्र बनेको छ । यसअघि महानायक अमिताभ बच्चन, आयुष्मान खुराना र तुषार कपुरलाई पनि यस्तै प्रकृतिका धम्कीपूर्ण सन्देश आएका थिए ।
लगातार कलाकारहरूलाई ज्यान मार्ने चेतावनी आउन थालेपछि बलिउड वृत्तमा सुरक्षा चिन्ता चुलिएको छ । आपराधिक पृष्ठभूमिका फरार व्यक्तिहरूको नाम र प्रविधिको दुरुपयोग गर्दै धम्की दिने प्रवृत्तिले मुम्बई प्रहरीको अनुसन्धानमा समेत नयाँ चुनौती थपिदिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस