Techie IT
२०८२ मंसिर ७, आइतबार

प्रगतिशील लोकतान्त्रिक पार्टी आज घोषणा हुँदै, के छ मार्गनिर्देशक सिद्धान्त?


नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियार समूहबीचको एकताबाट निर्माण भएको प्रगतिशील लोकतान्त्रिक पार्टी आइतबार औपचारिक रूपमा घोषणा हुँदैछ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे एकता घोषणा कार्यक्रम आयोजना हुने नेता सुदन किराँतीले जानकारी दिएका छन्।

घोषणाअघि शनिबार काठमाडौंमा शीर्ष नेताहरूबीच नेतृत्व संरचना, विचारधारा र कार्यदिशा विषयमा आन्तरिक छलफल भएको थियो। छलफलको निष्कर्ष अनुसार पार्टीले विभिन्न क्लस्टर दलित, महिला, आदिवासी जनजाति, मधेशी, पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने गरी ६/७ सदस्यीय समावेशी ‘अध्यक्ष परिषद्’ बनाउने निर्णय गरेको छ।

रास्वपा त्यागेर प्रगतिशील अभियानमा लागेका सन्तोष परियारका अनुसार परिषद्का तीन सदस्यको नाम टुंगो भइसकेको छ । औपचारिक घोषणा आजकै सभामा हुनेछ। यही परिषद्ले पार्टीको कार्यकारी भूमिका निर्वाह गर्नेछ।

घोषणासभाको अध्यक्षता सन्तोष परियारले गर्नेछन्। दुर्गा सोबले कार्यक्रम सञ्चालन गर्नेछिन् भने सुदन किराँतीले स्वागत मन्तव्य राख्नेछन्।

डा. बाबुराम भट्टराई र जनार्दन शर्मा पनि सहभागी हुनेछन्। उनीहरूले शुभकामना मन्तव्य मात्र दिने कार्यक्रम तय गरिएको छ। यसै सभाबाट नयाँ पार्टीको नीति, कार्यक्रम र नेतृत्व संरचनाबारे सार्वजनिक जानकारी गराइनेछ।

एकतापछि पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी नै राख्ने सहमति बनेको छ। केन्द्रीय समिति १५१ सदस्यीय रहनेछ भने यसको आकार यसभन्दा ठूलो नबनाउने निर्णय गरिएको छ। स्रोतका अनुसार डा. बाबुराम भट्टराई पार्टीको कार्यकारी भूमिकामा रहने छैनन्, उनी संरक्षकको भूमिकामा मात्र रहनेछन्।

जनार्दन शर्मा पनि पार्टीको प्रत्यक्ष कार्यकारी नेतृत्वमा नजोडिने सहमति भएको छ।

तत्कालीन माओवादी केन्द्रले एकीकृत समाजवादीसहितका दलहरूसँग एकता गरी नेकपा गठन गरेपछि असन्तुष्ट बनेका जनार्दन शर्माले अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठनमा अग्रसर रहेका थिए। यस पार्टीले निर्वाचन आयोगमा तीन पात भएको बिरुवालाई चुनाव चिन्हका रूपमा दर्ता गराइसकेको छ।

एकता सभाअघि त्रिपुरेश्वरमा आयोजित कार्यक्रममा जनार्दन शर्माले आगामी निर्वाचन नजिकिएकाले अभियानलाई पार्टीमै रूपान्तरण गर्नुपरेको बताएका थिए । उनले कार्यकर्ता र पूर्वमाओवादी नेतृत्वलाई निर्वाचन तयारीमा जुट्न निर्देशन दिएका थिए।

पार्टीको मार्गनिर्देशक सिद्धान्त प्रगतिशील समाजवाद रहनेछ। “मार्क्सवाद र पुँजीवादका सकारात्मक पक्षहरू समेटेर लोकतन्त्र सहितको समाजवाद निर्माणतर्फ जाने हो,” नेता किराँतीले भने।

राज्यनियन्त्रित समाजवाद होइन, वैज्ञानिक समाजवादका तत्व आत्मसात गर्दै लोकतान्त्रिक समाजवादी बाटोलाई अँगालिने उनले बताए। माओवादी केन्द्रले १० वाम घटकसँग एकता गर्दा ‘माओवाद’ छाडिएको आरोपसम्बन्धी प्रश्नमा उनले भने, “वामपन्थी वा कम्युनिस्ट शब्द राख्ने–नराख्ने मुख्य विषय होइन। हाम्रो लक्ष्य अन्यायको अन्त्य गर्दै लोकतन्त्र सहितको समाजवाद निर्माण गर्नु हो।”

पार्टी घोषणापछि महाधिवेशन कहिले गर्ने भन्ने निर्णय परिस्थितिअनुसार हुने किराँतीले बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट