बंगलादेशमा भड्कियो हिंसा, अवामी लिगका नेता–कार्यकर्ताको घरमा आगजनी
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकको घरमा आगजनी र राजनीतिक हिंसा भड्किएपछि शनिबार (नोभेम्बर २१) देशभर सयौँको संख्यामा अतिरिक्त अर्धसैनिक बल परिचालन गरिएको छ । बंगलादेश सरकारले देशभर सीमा सुरक्षा बल (बीजीबी) का थप ९० प्लाटुन परिचालन गरेको सरकारी समाचार एजेन्सी बीएसएसले जनाएको छ ।
शुक्रबार दक्षिणपश्चिमी जिल्ला नरैलमा हसिनाको प्रतिबन्धित पार्टी अवामी लिगसँग आबद्ध व्यक्तिहरूका एक दर्जनभन्दा बढी घरमा आगजनी गरिएको त्यहाँको प्रहरीले जनाएको छ । सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का दुई कार्यकर्ताको हत्या भएलगत्तै प्रतिशोधस्वरूप उक्त घटना भएको हो ।
मारिएका कार्यकर्ताका आक्रोशित समर्थकले कैयौँ घरमा तोडफोड र आगजनी गरेको स्थानीय प्रहरी अधिकारी शेख तसनिम अलीले बताएका छन् ।
नाम नखुलाउने सर्तमा एक स्थानीय बासिन्दाले जिल्लामा करिब ५० घरमा क्षति पुगेको बताए । हिंसाका कारण सर्वसाधारण त्रसित बनेको तथा महिला र बालबालिकालाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको उनले जानकारी दिए ।
सडकमा काठका मुढा तेर्स्याएर बाटो अवरुद्ध गरिएकाले दमकल टोली एक घटनास्थलसम्म पुग्न नसकेको अधिकारीहरूले बताएका छन् ।
नोभेम्बरमा भड्किएको हिंसाका क्रममा प्रहरी चौकीमा आगजनी, बैंकमा आक्रमण तथा प्रतिद्वन्द्वी राजनीतिक कार्यकर्ताका घरमा तोडफोड र आगजनीका घटना भएका छन् । सन् २०२४ को जनविद्रोहका क्रममा भएको दमनमा मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै अनुपस्थितिमै मृत्युदण्ड सुनाइएकी ७९ वर्षीया हसिनाले आगामी डिसेम्बरमा भारतबाट स्वदेश फर्कने घोषणा गरेपछि देशभर तनाव चुलिएको हो ।
नोभेम्बर १४ यता राजनीतिक हिंसामा परी कम्तीमा चारजनाको मृत्यु भइसकेको छ । ज्यान गुमाउनेमा तीनजना राजनीतिक दलका कार्यकर्ता र एक बस मजदुर रहेका छन् । गुड्दै गरेको बसमा आगजनी गरिँदा ती मजदुरको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसैबीच, राष्ट्रिय प्रहरी प्रमुख मोहम्मद अली हुसेन फकिरले हसिनाको गृहनगर तथा अवामी लिगको परम्परागत गढ मानिने गोपालगन्जमा सुरक्षा व्यवस्था पुनः नियन्त्रणमा लिइएको बताएका छन् । उनले स्थानीय बासिन्दालाई तोडफोड र अराजकताविरुद्ध एकजुट हुनसमेत आग्रह गरेका छन् ।
त्यस्तै, जीवन निर्वाहयोग्य ज्यालाको माग गर्दै गार्मेन्ट क्षेत्रका मजदुरहरूले प्रदर्शन गरिरहेका औद्योगिक क्षेत्रहरूमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
-विभिन्न अन्तर्राष्ट्रिय स्रोतबाट



तपाईको प्रतिक्रिया दिनुहोस