कर्मचारी नियुक्तिबारे आएका समाचार असत्य भएको प्रधानमन्त्री सचिवालयको दाबी
प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा कर्मचारी नियुक्ति गरिएको भन्ने समाचारहरू निराधार भएको प्रधानमन्त्रीको सचिवालयले स्पष्ट गरेको छ।
प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले ‘आफ्ना मान्छे’ नियुक्त गरेको आरोप सार्वजनिक भएपछि सचिवालयले त्यस्ता सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जारी गरेको विज्ञप्तिमा जेनजी आन्दोलनको बलमा स्थापित सरकारका प्रधानमन्त्री कार्की मितव्ययिता, पारदर्शिता र जवाफदेहिताका सिद्धान्तप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, “राज्यकोषमा न्यूनतम भार पर्न जाओस् र काम छरितो होस् भन्ने उद्देश्यले सचिवालय अत्यन्त कम जनशक्तिबाट सञ्चालन हुँदै आएको छ। प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ (एघारौँ संशोधन, २०८१) अनुसार प्रमुख स्वकीय सचिवको नियुक्ति प्रधानमन्त्रीले गर्नसक्छन्, र अन्य पदमा नियुक्ति प्रमुख स्वकीय सचिवले प्रधानमन्त्रीको निर्देशनमा गर्न सक्ने व्यवस्था छ। सोहीअनुसार प्रधानमन्त्रीले आफूले विश्वास गर्नसक्ने व्यक्तिलाई प्रमुख स्वकीय सचिव नियुक्त गर्नुभएको हो।”




तपाईको प्रतिक्रिया दिनुहोस