नेपाली क्रिकेटको माहोल जादुमयी छ - जर्ज मुन्से
सुदूरपश्चिम रोयल्सलाई नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो उपाधि जिताउन निर्णायक भूमिका खेलेका जर्ज मुन्सेले आफूलाई विश्वास गरेर टोलीमा समावेश गरेकोमा धन्यवाद व्यक्त गरेका छन् ।
शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको फाइनलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै ऐतिहासिक उपाधि जितेको थियो ।
पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । जवाफमा सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई १५८ रन बनाउँदै सहज जित निकाल्यो ।
सुदूरपश्चिमको जितमा मुन्से नायक बनेका छन् । उनले आक्रामक ब्याटिङ गर्दै अविजित १२५ रनको कीर्तिमानी पारी खेले । उनको यो प्रदर्शन एनपीएल इतिहासकै उच्च व्यक्तिगत स्कोरसमेत बनेको छ ।
खेलपछि प्रतिक्रिया दिँदै मुन्सेले आफूलाई भाग्यले पनि साथ दिएको बताए । टोलीको सफलताप्रति खुसी व्यक्त गर्दै उनले सुदूरपश्चिमबाट केही दिनअघि मात्रै खेल्ने प्रस्ताव आएको खुलासा गरेका छन् ।
‘सुदूरपश्चिमले केही दिनअघि एक्कासि फोन गरेर खेल्ने प्रस्ताव राखेको थियो । मैले त्यसलाई स्वीकार गरेँ र नेपाल आएँ,’ उनले भने ।
मुन्से प्लेअफ चरणका खेल खेल्नकै लागि नेपाल आएका थिए । स्कटल्यान्डकै अर्का खेलाडी ब्रान्डन म्याकमुलेन स्वदेश फर्किएपछि उनको स्थानमा सुदूरपश्चिमले मुन्सेलाई टोलीमा भित्र्याएको थियो ।
गत संस्करणमा अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेका मुन्सेले यसपटक भने शानदार पुनरागमन गरे । प्लेअफदेखि नै प्रभावशाली प्रदर्शन गरेका उनी फाइनलमा शतक प्रहार गर्दै टोलीलाई पहिलो उपाधि दिलाउने प्रमुख खेलाडी बने ।
मुन्सेले नेपाली क्रिकेट समर्थक र एनपीएलको वातावरणको पनि खुलेर प्रशंसा गरेका छन् । उनले नेपाली क्रिकेटको माहोललाई जादुमयी भन्दै प्रतियोगिताको स्तर उच्च रहेको बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस