उम्मेदवारीबारे सार्वजनिक टिप्पणी नगर्न रास्वपाको निर्देशन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आगामी निर्वाचनसम्बन्धी उम्मेदवारीबारे सार्वजनिक टिप्पणी नगर्न आफ्ना नेता–सदस्य तथा कार्यकर्तालाई निर्देशन दिएको छ।
उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको वा आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता कुनै पनि अभिव्यक्ति दिन नहुने पार्टीको स्पष्ट निर्देशन पत्रमा उल्लेख छ।
उम्मेदवार छनोट समितिका संयोजक विपिनकुमार आचार्यले जारी गरेको पत्रमा पार्टीका विभिन्न तहका नेता तथा सदस्यहरूले प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आफू उम्मेदवार हुने वा उम्मेदवारी दाबी गर्ने खालका सार्वजनिक अभिव्यक्ति दिएका पाइएको र सो विषयमा उम्मेदवार छनोट समितिको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
पत्रमा पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छनोट पार्टीको पारित आधिकारिक रूपरेखा र विधि अनुसार मात्र हुने नीति स्पष्ट छ। हालसम्म रुपन्देही क्षेत्र नम्बर ३ का लागि मात्र औपचारिक रूपमा उम्मेदवार चयन भएको र अन्य कुनै निर्वाचन क्षेत्रका लागि टुंगो नलागेको रास्वपाले जनाएको छ।
‘पार्टीको आधिकारिक निर्णय नभइसकेको अवस्थामा कुनै पनि निर्वाचन क्षेत्रका उम्मेदवारसम्बन्धी भ्रामक, अपुष्ट वा अफवाह फैलिने खालका वक्तव्य, प्रचार–प्रसार वा गतिविधि नगर्न सम्पूर्ण नेता, सदस्य, संरचना तथा शुभेच्छुकलाई हार्दिक अनुरोध गर्दछौं,’ पत्रमा भनिएको छ।
उम्मेदवार छनोट प्रक्रियाप्रति पूर्ण विश्वास राख्दै पार्टी अनुशासन, सामूहिक निर्णय र स्वस्थ राजनीतिक संस्कारको सम्मान गर्दै अघि बढ्न संयोजक आचार्यले अपिल गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस