रास्वपा–उनेपा पार्टी एकता भाँडियो, समन्वयकर्ताहरू ‘यता न उता’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच चलिरहेको पार्टी एकता तथा चुनावी सहकार्य अन्ततः भाँडिएको छ। दुवै पार्टीलाई एकिकृत गर्दै काठमाडौंका मेयर बालेन साहलाई समेत समेटेर वैकल्पिक शक्ति निर्माण गर्ने प्रयासमा लागिरहेकी पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठलगायतका नेताहरू अहिले अनिश्चित अवस्थाबाट गुज्रिरहेका छन्।
श्रेष्ठले केही महिना अघिदेखि रास्वपा, उनेपा र बालेन निकट स्वतन्त्र व्यक्तिहरूलाई एउटै राजनीतिक मोडेलमा ल्याउने रणनीति बनाउँदै आएकी थिइन्। तर, उनेपा र रास्वपाबीच विश्वासको संकट गहिरिँदा त्यो प्रयास पूर्णरूपमा रोकिएको छ।
रास्वपाले लोकप्रियताबाट तर्सिएर अल्मल्यायो - उनेपा
उर्जा मन्त्री कुलमान घिसिङ ‘डिफ्याक्टो लिडर’ रहेको उनेपाले आफ्नो बढ्दो लोकप्रियताबाट रास्वपा तर्सिएको निष्कर्ष निकालेको छ। पार्टीको गत बिहीबार बसेको पाँचौँ केन्द्रीय समितिको बैठकले रास्वपा एकता र सहकार्यका नाममा आफूहरूलाई निरन्तर अल्मलाउँदै आएको ठहर गरेको हो। उनेपाले सो निर्णय रास्वपालाई लेखेरै जानकारी गराएपछि दुई पार्टीबीचको वार्ता औपचारिकरूपमै भाँडिएको बताइएको छ।
उनेपाका एक केन्द्रीय सदस्यका अनुसार, “रास्वपा एकपछि अर्को शर्त थप्दै केवल आफ्नो दुनो सोझ्याउने काम गरिरहेको छ। अब अहिलेलाई कुनै छलफल हुँदैन। जरुरी परे आगामी संवादमा कुलमानजी नै अग्रभागमा रहनेछन्।”
उनेपाका नेताहरूले सहकारी ठगी प्रकरणमा जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेले कुलमानको उदयसँगै आफू ओझेलमा पर्ने डरले सहकार्य रोकिदिएको आरोप लगाएका छन्।
उनेपाका एक नेताले भने “कुलमानजी रविजीलाई सभापति मान्नसम्म तयार हुनुहुन्थ्यो। आफू सहसंयोजक भएर बस्न पनि स्वीकार गर्नुभयो। तर, रास्वपाभित्रकै केही समूहले एकता बिथोल्ने काम गर्यो।” तर, रास्वपाका एक नेताले भने उनेपाबाट कार्यवाहक सभापतिबाट नझर्ने अडान आएको र त्यो कारण सहमति टुटेको दाबी गरेका छन् ।
उनका अनुसार “कुलमानजीलाई उपसभापति दिन तयार थियौँ। तर, उनीहरू केही समयका लागि भए पनि कार्यवाहक नेतृत्व माग्दै बसे। त्यो स्वीकार्य थिएन।” रवि जेलमा रहेका कारण कुलमानले चुनावसम्म पार्टी नेतृत्व सम्हाल्न खोजेको दाबी पनि रास्वपा पक्षबाट गरिन्छ। तर, चुनावी तालमेल भने सम्भावनाबाट बाहिर नगइसकेको रास्वपाका केही नेताहरू बताउँछन्।
बालेन साहको ‘समर्थन’ कस्लाई ?
रास्वपा–उनेपा एकतामा मेयर बालेन साहले पनि भूमिका खेल्दै दुवै नेतालाई मिल्न सुझाव दिएका थिए। बालेनले आफू कुनै पदमा नजाने, तर आफ्नो कोर टीममार्फत समर्थन जनाइने संकेत दिएका थिए। तर, रवि र कुलमानबीच शक्तिको बाँडफाँड नमिलेपछि बालेनको समर्थन कुन पार्टीतर्फ जान्छ ? भन्ने प्रश्न अहिले तीव्र बनेको छ।
उनेपा निकट सूत्रका अनुसार, “बाहिरबाट हेर्दा बालेनको समर्थन कुलमानतर्फ ढल्केको देखिन्छ। तर, बालेनको ‘मुड’ अन्तिम दिनसम्म कता जान्छ भनेर ठोकुवा गर्न सकिँदैन।” लगातारको असहमतिपछि उनेपाले वार्ता प्रक्रिया ‘अहिलेलाई’ स्थगित गर्दै संगठन विस्तारमा ध्यान केन्द्रित गरेको छ।
उता, रास्वपा पक्षले पनि आफ्ना उम्मेदवार मनोनयन दर्ताको दिनसम्म तालमेलको ढोका खुलै रहेको बताउँदै कूटनीतिक अस्पष्टता कायम राखेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस