सिरियल नम्बर नराखेका करिब ४ लाख नयाँ क्रियाशील सदस्यता फारम रद्द
नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले सिरियल नम्बर नराखी जिल्ला-जिल्लामा पठाइएका करिब ४ लाख नयाँ क्रियाशील सदस्यता फारम रद्द गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको समितिको बैठकले सिरियल नम्बर नभएका फारम अमान्य ठहर गर्दै नयाँ सिरियल नम्बर सहितका फारम छापेर पुनः जिल्ला-जिल्लामा पठाउने निर्णय गरेको हो।
समितिका सदस्य प्रकाश स्नेही रसाइलीले २४ घण्टाभित्र सिरियल नम्बर सहितका नयाँ फारम छापेर पठाउने निर्णय भएको जानकारी दिएका छन्। यसअघि ‘सिरियल नम्बर’ प्रकरणलाई लिएर समितिभित्र मतभेद देखिएको थियो। महामन्त्री गगन थापा नेतृत्वको समितिमा सिरियल नम्बर नभएका फारम फिर्ता लिने वा त्यही फारममा विवरण भर्न लगाउने भन्ने विषयमा विवाद चर्किएको थियो।
महामन्त्री थापा र सदस्य रसाइली तत्कालका लागि त्यही फारम प्रयोग गर्ने पक्षमा थिए भने संस्थापन पक्षीय सदस्यहरू योगेन्द्र चौधरी र सीता गुरुङ फारम फिर्ता बोलाएर नयाँ सिरियल नम्बर सहितका फारम पठाउनुपर्ने अडानमा थिए।
लामो छलफल र रस्साकस्सीपछि महामन्त्री थापा र सदस्य रसाइली आफ्ना अडानबाट पछि हट्दै नयाँ फारम पठाउने निर्णयमा सहमत भएका हुन्। समितिका एक सदस्यका अनुसार थापाले बैठकमा अन्तिम समयसम्म पनि पुरानै फारमलाई मान्यता दिनुपर्ने धारणा राखेका थिए। तर सहमति बन्ने सम्भावना नदेखिएपछि उनले नयाँ फारम छाप्ने निर्णयमा सहमति जनाएका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस