समानुपातिक निर्वाचनका लागि दललाई नयाँ मापदण्ड: बन्द सूचीमा ११–११० उम्मेद्वार हुनुपर्ने
राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि उम्मेद्वारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन (पहिलो संशोधन) निर्देशिका, २०८२ अनुसार राजनीतिक दलहरूले उम्मेद्वारको बन्द सूची पेस गर्दा नयाँ व्यवस्थाअनुसार गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
निर्देशिकाअनुसार दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु र मुस्लिम समुदायको जनसङ्ख्या प्रतिशतका आधारमा बन्द सूची पेस गर्नुपर्नेछ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कका आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची–१ मा आवश्यक संशोधन गरिएको हो ।
पछिल्लो कानुनी प्रबन्धअनुसार बन्द सूचीमा दलित १३ दशमलव ४४ प्रतिशत, आदिवासी जनजाति २८ दशमलव ७२ प्रतिशत, खस आर्य ३० दशमलव २८ प्रतिशत, मधेसी १६ दशमलव १५ प्रतिशत, थारु ६ दशमलव ५२ प्रतिशत र मुस्लिम ४ दशमलव ८९ प्रतिशतको अनुपातमा उम्मेद्वारको नाम समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
बन्द सूचीमा प्रत्येक समावेशी समूहबाट कम्तीमा ५० प्रतिशत महिलाको नाम अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ । कुल ५० प्रतिशत सिट सङ्ख्या निर्धारण गर्दा महिलाको सङ्ख्या दशमलवमा आएमा सोभन्दा माथिको पूर्ण सङ्ख्यामा नाम समावेश गर्नुपर्ने व्यवस्था छ ।
यसैगरी उम्मेद्वारको नाम सूचीकृत गर्दा कम्तीमा ४ दशमलव ३ प्रतिशत पिछडिएका क्षेत्रका उम्मेद्वारको नाम समावेश गर्नुपर्नेछ । अपाङ्गता भएका व्यक्तिको नाम पनि सूचीमा अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने आयोगले जनाएको छ ।
बन्द सूची आयोगमा पेस गर्दा सम्बन्धित दलको केन्द्रीय समितिबाट स्वीकृत निर्णयको प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्नेछ । साथै सूचीमा रहेका प्रत्येक उम्मेद्वारको नेपाली नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि तथा मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि पेस गर्नुपर्नेछ ।
समानुपातिक उम्मेद्वारका लागि योग्यता निर्धारण गरिएको छ । त्यसअनुसार उम्मेद्वार नेपाली नागरिक हुनुपर्ने, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, २५ वर्ष उमेर पूरा गरेको, कुनै सङ्घीय कानुनअनुसार अयोग्य नठहरिएको र कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्नेछ ।
समानुपातिक निर्वाचन प्रणालीका लागि आवेदन दिएका राजनीतिक दलहरूले यही पुस १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेद्वारको बन्द सूची पेस गर्नुपर्ने समयसीमा तोकिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस