काठमाडौं–१ मा राणाको अस्वीकार, राप्रपाभित्र उम्मेदवार विवाद चर्कियो
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष पशुपति शम्शेर राणाले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने स्पष्ट पारेका छन् । आफू उक्त क्षेत्रमा राम्रोसँग परिचितसमेत नरहेको भन्दै राणाले उम्मेदवारीको कुनै चाहना नरहेको बताएका हुन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाबाट काठमाडौं–१ मा प्रत्यक्षतर्फ दुई फरक–फरक सूची सिफारिस भएपछि पार्टीभित्र विवाद र तरंग उत्पन्न भएको छ । एउटा सूचीमा पूर्वअध्यक्ष राणालाई पहिलो नम्बरमा राखिएको छ भने अर्को सूचीमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पहिलो नम्बरमा सिफारिस गरिएको छ ।
यसैबीच वरिष्ठ उपाध्यक्ष मिश्रले पूर्वअध्यक्ष राणालाई भेटेर यसबारे जिज्ञासा राखेका थिए । सो भेटको भिडियो क्लिप मिश्रले सोमबार सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेका छन् । उक्त भिडियोमा राणाले भनेका छन्, ‘कस्तो कुरा गर्नुभएको ? काठमाडौं क्षेत्र नम्बर १ मा म राम्रोसँग परिचित पनि छैन । जे भए पनि त्यहाँबाट उम्मेदवार भएर उठ्ने मेरो कुनै नियत छैन ।’
आफ्नो नाम काठमाडौं–१ बाट उम्मेदवारका रूपमा सिफारिस भएको विषयमा आफूलाई कुनै जानकारी नरहेको राणाको भनाइ छ ।काठमाडौं–१ मा २०७४ र २०७९ का प्रतिनिधिसभा निर्वाचनमा रवीन्द्र मिश्र उम्मेदवार भएका थिए । पछिल्लोपटक पार्टी क्षेत्रीय तहबाट फरक–फरक सूची केन्द्रमा सिफारिस भएपछि राप्रपाभित्र आन्तरिक विवाद चर्किएको छ ।
पूर्वअध्यक्ष राणालाई पहिलो नम्बरमा राखिएको सूची क्षेत्रीय कार्यसमितिबाट सिधै केन्द्रीय कार्यालय पठाइएको छ भने वरिष्ठ उपाध्यक्ष मिश्रलाई पहिलो नम्बरमा राखिएको सूची भने जिल्ला कार्यसमितिमार्फत रायसहित केन्द्रमा पठाउने तयारी भइरहेको छ ।
पार्टीका नेताहरूका अनुसार पूर्वअध्यक्ष राणाको नाम पहिलो नम्बरमा राखेर सिफारिस गरिएको सूची जिल्ला कार्यसमितिलाई जानकारी नै नदिई सिधै केन्द्रमा पठाइएको हो । यसलाई वैधानिक प्रक्रिया विपरीतको कदम भन्दै मिश्रनिकट नेताहरूले आपत्ति जनाएका छन् ।
यसैबीच राप्रपाले २०६४ सालपछि पटक–पटक समानुपातिक सांसद बनेकाहरूलाई यसपटक समानुपातिकमा नदोहोर्याउने तयारी गरेको छ । यही कारण पूर्वअध्यक्ष राणा प्रत्यक्षतर्फ उम्मेदवार बन्न खोजेको हुन सक्ने चर्चा भए पनि स्वयं राणाले त्यसलाई अस्वीकार गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस