शीतल निवासको शीर्ष बैठकमा संसद् पुनर्स्थापना कि चुनाव ? दुई धारमा नेताहरू
राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्की र तीन ठूला दलका शीर्ष नेताबीच मंगलबार शीतल निवासमा भएको छलफलमा संसद् पुनर्स्थापना र तोकिएको मितिमै निर्वाचन गर्ने विषयमा स्पष्ट रूपमा दुई धार देखिएका छन्।
छलफलमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ फागुन २१ गते नै निर्वाचन हुनुपर्ने अडानमा देखिएका थिए । तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको वातावरण नबनेको भन्दै प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्पतर्फ जोड दिएका छन्।
आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आवश्यक वातावरण बनाउने उद्देश्यले राष्ट्रपति पौडेलले प्रधानमन्त्री र ठूला दलका शीर्ष नेताबीच छलफल आयोजना गरेका थिए। गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएयता शीर्ष तहमा भएको यो पहिलो संयुक्त छलफल हो।
छलफलका क्रममा एमाले अध्यक्ष ओलीले आफ्नो पार्टी चुनाव विरोधी नभएको स्पष्ट पारे पनि वर्तमान अवस्थामा चुनावी वातावरण नरहेको बताएका थिए। उनले सिधै संसद् पुनर्स्थापनाको प्रस्ताव नराखे पनि चुनाव सम्भव नभएकाले त्यसतर्फ सोच्नुपर्ने संकेत गरेका थिए।
‘हामी चुनाव विरोधी होइनौँ, चुनावमा जान तयार छौँ तर अहिले देशभर घुम्ने अवस्था नै छैन,’ ओलीको भनाइ उद्धृत गर्दै एमालेका एक नेताले बताए। ओलीले आफूलाई काठमाडौँ बाहिर जानसमेत अवरोध भइरहेको अवस्थामा कसरी चुनावी वातावरण बन्न सक्छ भन्ने प्रश्न पनि उठाएका थिए।
कांग्रेस सभापति देउवाले पनि छलफलमा चुनावी वातावरण नबनेको धारणा राख्दै तोकिएको मितिमा निर्वाचन हुन नसके संसद् पुनर्स्थापनाको विकल्पमा जानुपर्ने संकेत गरेका थिए।
यसको विपरीत नेकपाका संयोजक प्रचण्ड भने स्पष्ट रूपमा निर्वाचनको पक्षमा उभिए। ‘हामी सुरुदेखि नै चुनावको पक्षमा छौँ, सबै मिलेर वातावरण बनाऔँ र चुनावमै जाऔँ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनका निकट एक नेताले भने, ‘सुरक्षाको व्यवस्था सरकारले मिलाउनुपर्छ र मिलाउँछ।’
पहिलोपटक शीर्ष नेताहरूसँग एउटै थलोमा बसेकी प्रधानमन्त्री कार्कीले सुरक्षाबारे आश्वस्त पार्दै चुनावको तयारीमा लाग्न आग्रह गरिन्। ‘चुनावी वातावरण सरकारले बनाउँछ, देशभर सुरक्षाकर्मी परिचालन हुन्छन्, सुरक्षाको चिन्ता लिनु पर्दैन,’ उनले भनिन्।
छलफलमा राष्ट्रपति पौडेलले देशको परिस्थिति गम्भीर र संवेदनशील भएकै कारण निर्वाचनको घोषणा गरिएको स्मरण गराउँदै निर्वाचन सफल बनाउन सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए।
मंगलबार शीतल निवासमा भएको छलफललाई प्रधानमन्त्री कार्की र ठूला दलका शीर्ष नेताबीचको ‘आइस ब्रेक’का रूपमा लिइएको छ। वातावरण छैन भन्दै कांग्रेस र एमालेका नेताहरूले चुनाव असम्भव रहेको तर्क गरिरहँदा राष्ट्रपति, प्रधानमन्त्री र प्रचण्ड भने तोकिएकै मितिमा चुनाव हुनुपर्ने अडानमा देखिएका छन्।
प्रधानमन्त्री कार्कीले यस्ता छलफललाई निरन्तरता दिनुपर्ने बताउँदै आगामी बैठक बालुवाटारमा आयोजना गरिने जानकारी दिएकी छन्।



तपाईको प्रतिक्रिया दिनुहोस