Techie IT
२०८२ पौष १०, बिहीबार

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकतामा सहमति


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच पार्टी एकताका लागि सहमति भएको छ।

बुधबार दुवै पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापाबीच भएको छलफलपछि एकता गर्ने सहमति भएको हो। एकतामा जाने निर्णय भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले जानकारी दिएका छन्।

२०७८ मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि थापाले २०७८ माघ २५ गते राप्रपाबाट अलग भएको घोषणा गरेका थिए। उक्त महाधिवेशनमा उनले पूर्वराजा तथा निर्मल निवासबाट हस्तक्षेप भएको आरोपसमेत लगाएका थिए।

राप्रपा छाडेपछि थापाले २०७८ फागुन ७ गते नयाँ दलका रूपमा राप्रपा नेपालको गठन गरेका थिए। त्यसयता राजावादी राजनीतिमा दुई दलबीच विभाजन देखिँदै आएको थियो।

जेन–जी आन्दोलनपछि मूलधारका राजनीतिक दलहरूमाथि चुनौती बढिरहेको सन्दर्भमा दुई राजावादी दल पुनः एकतामा जान सहमत भएका हुन्। विभाजन भएको करिब चार वर्षपछि गत कात्तिकमा दुवै पार्टीका अध्यक्ष लिङ्देन र थापाबीच एकीकरणका लागि वार्ता सुरु भएको थियो। निरन्तर संवादपछि करिब दुई महिनामा यो सहमति मूर्तरूप लिएको हो।

महाधिवेशनपछि पार्टी छाडेका थापा चार वर्षपछि पुनः लिङ्देनलाई अध्यक्ष स्वीकार गर्न तयार भएका छन्।

गत कात्तिक १८ गते राप्रपा नेपालले औपचारिक रूपमा राप्रपासँग एकताको प्रस्ताव गरेको थियो। दोस्रो तहका नेताहरूबीच पटक–पटक छलफल भएपछि दुई अध्यक्षबीच प्रत्यक्ष संवाद भएको र त्यसबाट यो निर्णय भएको जनाइएको छ।

समान विचारधारा भएका राजनीतिक दल तथा शक्तिसँग सहकार्य र एकताको नीति अनुरूप राप्रपा नेपालले थालेको पहल अन्ततः दुई दलको एकतामा परिणत भएको हो।

कात्तिक १८ गते राप्रपाका वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा गठित वार्ता समितिले राप्रपा अध्यक्ष लिङ्देनलाई एकताको औपचारिक प्रस्ताव बुझाएको थियो। ललितपुरको लामाटारस्थित लिङ्देन निवासमा भएको उक्त भेटघाट सकारात्मक भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले त्यसबेला बताएका थिए।

उनका अनुसार मुलुकको पछिल्लो राजनीतिक अवस्था, ध्रुवीकरण र समान विचारधारा भएका शक्तिहरूबीच सहकार्यको आवश्यकता बारे गम्भीर छलफल भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट