Techie IT
२०८२ पौष १३, आइतबार

प्रतिनिधिसभा चुनावमा दार्चुलाबाट नरबहादुरको टिकट पाउने सम्भावना उच्च


फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने–नहुने भन्ने अन्योलका बीच देशभरका राजनीतिक दलहरूले आ–आफ्ना उम्मेदवारको नाम सिफारिस गर्ने प्रक्रिया तीव्र बनाएका छन्। निर्वाचनको मिति नजिकिँदै जाँदा अधिकांश दलले प्रत्यक्षतर्फ र समानुपातिकतर्फका उम्मेदवारको नाम केन्द्रमा पठाउने काम जारी राखेका छन्।

यसैबीच, निर्वाचनकै विषयमा प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेपछि देश लगभग चुनावी प्रक्रियातर्फ अघि बढेको संकेत देखिएको राजनीतिक वृत्तमा चर्चा छ।

पछिल्लो समय सबै राजनीतिक दलमा युवालाई प्रतिनिधित्व गराउनुपर्ने दबाब बढ्दो छ। दलहरूले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिफारिस गर्दा युवालाई प्राथमिकतामा राख्न आन्तरिक रूपमा सर्कुलरसमेत जारी गरेका छन्। यही सन्दर्भमा नेपाली कम्युनिष्ट पार्टी दार्चुलाले पनि प्रतिनिधिसभा निर्वाचनका लागि आफ्ना सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ।

पार्टीले प्रत्यक्षतर्फका लागि लक्ष्मण दत्त जोशी (सुरज), ललित सिंह ठगुन्ना (प्रविण), मदन सिंह धामी, नरबहादुर विष्ट (युवा समूह) र महिलातर्फ गंगाकुमारी महतरा (गायत्री रावल)को नाम सिफारिस गरेको छ।

दार्चुलाका नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूसँग रैबारप्रेसले गरेको संवादमा नरबहादुर विष्ट सबैभन्दा उपयुक्त उम्मेदवारका रूपमा देखिएको प्रतिक्रिया आएको छ। युवा क्लष्टरमा पर्ने विष्ट वर्तमान राजनीतिक आवश्यकता अनुसारको पात्र भएको खलङ्गाका स्थानीय महेश भण्डारीले बताएका छन्। उनले भने, “जेनजी आन्दोलनको मूल मर्म नै सुशासन र युवाको प्रत्यक्ष सहभागिता हो। यस्तो अवस्थामा पार्टीले युवालाई टिकट दिए आम युवाले साथ दिन सजिलो हुन्छ।”

विद्यालय जीवनदेखि नै राजनीतिमा सक्रिय विष्टले समाजशास्त्र र राजनीतिक शास्त्रमा स्नातकोत्तर पूरा गरिसकेका छन् भने उनी पेशाले अधिवक्तासमेत हुन्। पढेलेखेका, देश–काल बुझेका र जनताको भावना बुझ्न सक्ने क्षमता भएकाले पार्टीभित्र पनि विष्टलाई उम्मेदवार बनाउने विषयमा सकारात्मक वातावरण बनेको दार्चुलाका नेता हरि सिंहले बताए। हाल वाइसियल नेपालको केन्द्रिय उपमहासचिवको जिम्मेवारीमा रहेका विष्ट तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपाको मार्मा गाउँपालिका कमिटीको अध्यक्षको जिम्मेवारी समेत पुरा गरिसकेका छन् । 

युवाको नेतृत्वमा निर्वाचनमा होमिएमा जेनजी आन्दोलनको भावना समेटिनुका साथै मत बटुल्न पनि सहज हुने नेकपा दार्चुलाको आकलन रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट