Techie IT
२०८२ पौष १३, आइतबार

लौरो छाडेर घण्टी समाते बालेनले, रास्वपाबाट प्रधानमन्त्री बन्ने सहमति


काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर ऐतिहासिक जित हासिल गरेका बालेन्द्र शाह (बालेन) अन्ततः राजनीतिक दलमा आबद्ध भएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित हुने सहमतिमा पुगेका हुन् ।

आइतबार बिहान भएको सहमतिअनुसार रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको छ । यससँगै बालेनको स्वतन्त्र राजनीतिक पहिचान समाप्त भएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेताको रूपमा चयन भए प्रधानमन्त्री बन्ने अवसर आए बालेनलाई अघि बढाइने सहमति भएको हो ।

दुई पक्षबीच भएको सम्झौतामा पार्टीको नाम, झण्डा र चुनाव चिन्ह यथावत् रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी र ‘घण्टी’ नै रहने उल्लेख छ । यसअघि बालेनले काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचनमा ‘लौरो’ चुनाव चिन्ह प्रयोग गरेका थिए । उनी आफ्नै नेतृत्वमा नयाँ दल दर्ता गरी ‘लौरो’ चिन्हमै अघि बढ्ने तयारीमा थिए । सोही क्रममा रास्वपासँग पनि निरन्तर वार्ता चलिरहेको थियो । एकतापछिको पार्टीको चुनाव चिन्ह ‘लौरो’ बनाउने विषयमा समेत छलफल भए पनि अन्ततः सहमति जुट्न सकेन ।

नयाँ दल खोलेर राजनीतिक चुनौती लिनेभन्दा रास्वपामै समाहित भएर अघि बढ्ने निष्कर्षमा बालेन पुगेका हुन् । चुनाव चिन्ह ‘घण्टी’ नै रहने विषयमा उनले कुनै विवाद नगरेको देखिन्छ । सम्झौतापत्रमा हस्ताक्षर गरेपछि बालेनले फेसबुकमा ‘घण्टी’ बजाएको इमोजीसहित ‘शुभ प्रभात’ लेख्दै सहमतिलाई सार्वजनिक संकेत दिएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच प्रतिनिधिसभा निर्वाचनमा एउटै दलबाट प्रतिस्पर्धा गर्ने घोषणासहित सातबुँदे सम्झौता भएको हो । सम्झौताअनुसार, पार्टीको नेतृत्व रवि लामिछानेले गर्नेछन् भने आगामी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा बालेन शाहलाई संसदीय दलको नेताको रूपमा अघि सारिनेछ ।

सम्झौतापत्रमा रवि लामिछाने र बालेन शाह दुवैले आफ्नो पदीय हैसियत उल्लेख नगरी नाममात्रै लेखेर हस्ताक्षर गरेका छन् । सम्झौतामा राष्ट्रिय स्वतन्त्र पार्टीको विषयवस्तु उल्लेख भए पनि रवि लामिछानेले सभापतिको हैसियतमा हस्ताक्षर गरेका छैनन् । त्यस्तै, बालेन शाहले पनि मेयरको हैसियत खुलाएका छैनन् । सम्झौतापछि बालेन शाहले मेयर पदबाट राजीनामा दिएर पूर्ण रूपमा पार्टी राजनीतिमा सक्रिय हुने सम्भावना देखिएको छ ।

सम्झौतापत्रको पहिलो बुँदामा नवयुवा (जेन–जी) ले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिने उल्लेख छ । आन्दोलनका क्रममा घाइते भएका तथा शहीद परिवारका माग सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।

दोस्रो बुँदामा समुन्नति र सामाजिक न्यायका लागि नीतिगत, संस्थागत तथा संरचनागत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । नेपाललाई आगामी १० वर्षभित्र सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने लक्ष्यमा इमान्दारीपूर्वक समर्पित हुने उल्लेख गरिएको छ ।

रवि लामिछाने र बालेन शाहले आफूहरूलाई पहिलो र दोस्रो पक्षका रूपमा प्रस्तुत गर्दै बृहत् एकताको उद्घोष गरेका छन् । पार्टीको नाम, चिन्ह र झण्डा यथावत् रहने स्पष्ट पारिएको छ ।

सम्झौतापत्रमा ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने’ उल्लेख छ ।

पटक–पटक एकताको छलफल भए पनि सम्झौतापत्रमा कुलमान घिसिङ र उनी आबद्ध उज्यालो नेपाल पार्टीबारे कुनै उल्लेख छैन । यद्यपि, बृहत् एकताको क्रममा अन्य वैकल्पिक शक्तिहरूलाई पनि समेट्ने संकेत गरिएको छ ।

सम्झौतामा पार्टीको संगठनात्मक संरचना थप सक्षम र फराकिलो बनाउँदै युवा अभियन्ता र अनुभवी विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा जिम्मेवारी दिने उल्लेख छ ।

यो सम्झौता तत्काल कार्यान्वयन गर्ने योजना अनुसार निर्वाचन आयोगमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको अभिलेख तथा दस्तावेज अद्यावधिक गर्ने घोषणा गरिएको छ ।

घोषणाअनुसार अब बालेन पक्षका समानुपातिक उम्मेदवारहरू रास्वपाबाटै प्रतिस्पर्धा गर्नेछन् । सम्भवतः दुई दिनभित्र आपसी सहमतिमा समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाइनेछ । प्रत्यक्षतर्फको मनोनयनका लागि भने अझै करिब तीन साता समय बाँकी छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट