म कुनै पार्टीमा छैन, अभिभावकको भूमिकामा मात्रै रहन्छु : डा. भट्टराई
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू हाल कुनै पनि राजनीतिक दलमा सक्रिय वा आबद्ध नरहेको स्पष्ट पारेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले विभिन्न राजनीतिक दलका नेताहरूले आफूलाई राजनीतिक सल्लाहकार, गुरु वा अभिभावकका रूपमा हेर्ने गरेको बताएका छन्।
डा. भट्टराईका अनुसार उनले गत वर्षदेखि नै निकट सहयोगीहरूलाई पार्टी राजनीतिमा प्रत्यक्ष नबस्ने र फरक ढङ्गले सहयोग गर्ने कुरा स्पष्ट गर्दै आएका थिए। भदौ २३–२४ गतेको जेन–जी विद्रोहपछि असोज ८ गते पार्टीको विस्तारित बैठक राखेर औपचारिक रूपमा पार्टीबाट बिदा लिइसकेको उनको भनाइ छ।
उनले लेखेका छन्, “पछि विभिन्न समितिहरू मिलाएर साथीहरूले ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ गठन गर्नुभयो, त्यसमा मैले शुभकामना दिएँ। तर म त्यो मात्रै होइन, अरू कुनै पार्टीको पनि सदस्य छैन।”
डा. भट्टराईले अहिले आफू कुनै दलको नेतृत्व वा संगठनात्मक जिम्मेवारीमा नभई अभिभावकको भूमिकामा मात्र रहेको उल्लेख गरेका छन्। “उहाँहरूले मलाई सद्भावपूर्ण ढङ्गले अभिभावक वा संरक्षक भन्नुहुन्छ। त्यो त मलाई सबैले भन्नुहुन्छ,” उनले लेखेका छन्।
उनका अनुसार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले पनि भेटका क्रममा आफूलाई अभिभावकको भूमिकामा रहन आग्रह गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि ‘हाम्रो अभिभावक’ भन्ने गरेको उनले उल्लेख गरेका छन्। साथै कुलमान घिसिङ, मधेसका नेता रेशम चौधरीलगायत नयाँ ढङ्गले राजनीतिमा उदाइरहेका नेताहरूले पनि आफूलाई अभिभावकका रूपमा सम्मान गर्ने गरेको भट्टराईले बताएका छन्।
अन्त्यमा उनले हाल आफू कुनै पनि पार्टीमा आबद्ध नरहेको र विचार, सुझाव तथा मार्गदर्शनमार्फत मात्रै योगदान गरिरहेको विषय स्पष्ट रहोस् भन्ने आग्रह गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस