Techie IT
२०८२ पौष १५, मंगलबार

नेकपासँग एकता योजनाबद्ध निर्णय हो : रञ्जिता श्रेष्ठ


रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले नेकपासँग गरिएको एकता आकस्मिक निर्णय नभई लामो समयदेखि चलिरहेको छलफलको निष्कर्ष भएको स्पष्ट पारेको छ।

शनिबार रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालसँग एकता घोषणा गर्ने तयारी भइरहेका बेला अचानक प्रक्रिया रोकिएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपासँग एकताको घोषणा हुनु योजनाबद्ध रहेको अध्यक्ष श्रेष्ठले बताइन्।

श्रेष्ठका अनुसार नागरिक उन्मुक्ति पार्टी नेपालसहित नेकपा तथा अन्य दलहरूसँग पनि एकता र सहकार्यका विषयमा निरन्तर संवाद भइरहेको थियो। अन्ततः नेकपासँग सहमति जुटेपछि एकता घोषणा गरिएको उनले स्पष्ट पारिन्। ‘यो अचानक भएको होइन, कुरा पहिलेदेखि चलिरहेको थियो। आज आएर सहमति भएको हो,’ उनले भनिन्।

उनका अनुसार रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालसँग पनि एकताका लागि छलफल चलेको र सहमतिको नजिकसमेत पुगेको थियो। अन्तिम चरणमा पुग्दा सो पार्टीका नेताहरूले चासो नदेखाएपछि नेकपासँग एकता गर्ने निर्णय गरिएको उनले बताइन्। ‘उहाँहरू आएर छलफल गरेर जानुभएको थियो, तर पछि कुनै पहल नभएपछि हामीले नेकपासँग एकता गरेका हौँ,’ श्रेष्ठले भनिन् ।

यसैबीच, नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले भने कानुनी अड्चनका कारण एकता सम्भव नभएको दाबी गरेका छन्। उनले दुवै पार्टीको विधानअनुसार केन्द्रीय समितिको दुई तिहाई निर्णयपछि मात्र एकता हुने व्यवस्था रहेको र हाल त्यस्तो बैठक बस्न नसक्ने अवस्थाका कारण एकता हुन नसकेको बताएका छन् ।

चौधरीले तीन दलबीच चुनावी तालमेल भइसकेको र समानुपातिक उम्मेदवारको सूचीसमेत बुझाइसकेको अवस्थामा दुवै पार्टी निर्वाचन आयोगमा दर्ता रहेकाले कानुनी रूपमा समस्या देखिएको तर्क गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट