नेपाललाई युक्रेन बनाउने प्रयास भइरहेको छ - पूर्वप्रधानमन्त्री खनाल
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले नेपाललाई वैदेशिक शक्तिहरूले ‘युक्रेन’ बनाउने प्रयास गरिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुक बहुआयामिक संकटमा फसेको उल्लेख गर्दै यसबाट बाहिर निस्कन वामपन्थी र देशभक्त शक्तिहरूबीच बृहत्तर एकता अपरिहार्य भएको बताएका छन्।
खनालले विश्वको शक्ति सन्तुलनमा तीव्र परिवर्तन भइरहेको र पश्चिमा शक्तिहरूको वर्चस्वमा आधारित पुरानो विश्व व्यवस्था क्रमशः विघटनको दिशामा उन्मुख रहेको बताएका छन्। उनका अनुसार न्याय र समानतामा आधारित नयाँ विश्व व्यवस्थाले आकार लिइरहेको प्रभाव नेपालजस्ता मुलुकहरूमा पनि देखिन थालेको छ।
देशको वर्तमान अवस्थाबारे टिप्पणी गर्दै खनालले कुशासन, भ्रष्टाचार र बेरोजगारीका कारण सामाजिक तथा आर्थिक संकट गहिरिँदै गएको बताएका छन्। उनले गत भदौ २४ गते ‘जेन–जी आन्दोलन’का नाममा भएको तोडफोड, आगजनी र लुटपाटले मुलुकलाई महासंकटतर्फ धकेलेको दाबी गर्दै यसलाई देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरूको सुनियोजित महाविध्वंसको संज्ञा दिएका छन्।
वर्तमान सरकारले घोषणा गरेको निर्वाचन कार्यक्रमको स्वागत गर्दै खनालले निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि आवश्यक पूर्वाधार अझै पर्याप्त रूपमा तयार नभएको आशंका व्यक्त गरेका छन्। उनले भने, “निर्वाचनको विकल्प छैन, तर केवल निर्वाचन मात्र पर्याप्त हुँदैन। संविधानको परिमार्जन, सुशासनको स्थापना, भ्रष्टाचारको अन्त्य र युवाहरूका लागि रोजगारी सिर्जना गर्ने ठोस योजनासहित अघि बढ्न आवश्यक छ।”
खनालले १७ वटा विभिन्न वाम समूहहरूको एकताबाट नेपाली कम्युनिस्ट पार्टी निर्माण भएको उल्लेख गर्दै बाँकी रहेका सम्पूर्ण कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूलाई कार्यगत एकता वा वाम मोर्चामा आबद्ध हुन आह्वानसमेत गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस