कांग्रेसभित्र हलचल: संस्थापन पक्षको केन्द्रीय सदस्यको भेला भोलि
नेपाली कांग्रेसको संस्थापन पक्षले भोलि (शुक्रबार) केन्द्रीय सदस्यहरूको भेला आयोजना गर्ने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि संस्थापन पक्षले केन्द्रीय सदस्यको छुट्टै भेला बोलाउने निष्कर्ष निकालेको हो।
सभापति देउवासँगको छलफलमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार भेला शुक्रबार बिहान साढे १० बजे नयाँ बानेश्वरमा आयोजना गरिनेछ। उनले उक्त भेलामा संस्थापन पक्षका शीर्ष नेताहरूलाई भने नबोलाइने स्पष्ट पारे।
“भोलि बिहान साढे १० बजे केन्द्रीय सदस्यहरू मात्रै बस्छौँ। शीर्ष नेताहरू कसैलाई पनि बोलाउँदैनौँ,” ती नेताले भने, “संस्थापन पक्षबाट निर्वाचित २५ केन्द्रीय सदस्यको समूहलाई पनि भेलामा आमन्त्रण गरिएको छ।”
यसअघि पनि संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले शीर्ष नेताहरूको उपस्थितिमा पटक–पटक भेला आयोजना गर्दै आएका थिए। उनीहरू आमनिर्वाचनअघि महाधिवेशन गर्नु नहुने पक्षमा अडान राख्दै आएका छन्।
यसैबीच, संस्थापन पक्षले विशेष महाधिवेशनको काउन्टरमा युवा भेला आयोजना गर्ने तयारी गरेको छ। पुस २७ गतेका लागि तय गरिएको उक्त भेला बिहान साढे ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु हुने जनाइएको छ।
‘आमनिर्वाचन, १५औँ महाधिवेशन र युवाको भूमिका’ शीर्षकमा हुने उक्त भेलाको आयोजना संयुक्त भ्रातृ संगठनहरूले गर्ने छन्। भेलाको संयोजनको जिम्मेवारी नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई दिइएको एक नेताले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस