तीन महिनामै ६.८ प्रतिशतले बढ्यो विदेशी विनिमय सञ्चिति
मुलुकको कुल विदेशी विनिमय (मुद्रा) सञ्चिति बढेर ४१ खर्ब ६१ अर्ब १४ करोड रुपैयाँबराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन–असोज) को वित्तीय प्रतिवेदनअनुसार गत असार मसान्तको तुलनामा विदेशी मुद्रा सञ्चिति ६.८ प्रतिशतले वृद्धि भएको हो ।
गत २०८३ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा २५ अर्ब ३१ करोड रहेकोमा असोज मसान्तसम्म आइपुग्दा ८.२ प्रतिशतले बढेर २७ अर्ब ३९ करोड डलर कायम भएको छ ।
कससँग कति सञ्चिति ?
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ६.४ प्रतिशतले वृद्धि भई ३६ खर्ब ९५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा केन्द्रीय बैंकसँग ३४ खर्ब ७३ अर्ब १९ करोड रुपैयाँ सञ्चिति थियो ।
त्यस्तै, राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी मुद्रा सञ्चिति ९.८ प्रतिशतले बढेर ४ खर्ब ६५ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । असार मसान्तमा यस्तो सञ्चिति ४ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँ थियो । असोज मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ प्रतिशत छ ।
चालु आर्थिक वर्षको तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको हालको विदेशी विनिमय सञ्चितिले १९.९ महिनाको वस्तु आयात र १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । सञ्चितिमा भएको निरन्तरको सुधारले मुलुकको बाह्य क्षेत्र थप मजबुत बन्दै गएको देखाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस