प्रधानमन्त्री कार्की–ओलीबीच एक्लाएक्लै तीन घण्टा छलफलमा के भयो कुराकानी?
प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ। अध्यक्ष ओली प्रधानमन्त्री कार्कीलाई भेट्न बिहान ११ बजे बालुवाटार पुगेका थिए।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार चुनावलाई केन्द्रमा राखेर प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच तीन घण्टाभन्दा बढी समय एकान्त संवाद भएको हो। भेटमा दुवै नेताबीच एक्लाएक्लै बसेर छलफल भएको रावलले जानकारी दिए।
भेटका क्रममा प्रधानमन्त्री कार्कीले सरकारले तोकिएकै समयमा निष्पक्ष निर्वाचन गराउने प्रतिबद्धता जनाउँदै त्यसका लागि सबै दलको सहयोग आवश्यक रहेको उल्लेख गरेकी थिइन्।
प्रधानमन्त्रीको धारणा सुनेपछि अध्यक्ष ओलीले एमाले चुनाव ध्वंश गर्ने पार्टी नभएको स्पष्ट पार्दै निर्वाचनमा सहभागी हुने बताएका छन्। ओलीको भनाइ उद्धृत गर्दै रावलले भने, ‘एमाले चुनावमा भाग लिन्छ, ध्वंश गर्ने पार्टी होइन। तर सरकारले त्यसका लागि अनुकूल वातावरण बनाउनुपर्छ।’
अध्यक्ष ओली आफ्ना स्वकीय सचिव राजेश बज्राचार्यलाई मात्रै लिएर प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए। चुनाव नजिकिँदै गर्दा प्रधानमन्त्रीसँग उनको एकान्त र लामो संवादलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।
भेटका क्रममा ओलीले प्रधानमन्त्रीका पति दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे समेत चासो व्यक्त गरेका थिए। साथै उनले निर्वाचनको तयारी, शान्ति–सुरक्षा र निष्पक्षताको सुनिश्चितताबारे प्रश्न उठाएका थिए।
प्रधानमन्त्री कार्कीले सरकार निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको दाबी गर्दै ढुक्क भएर चुनावमा सहभागी हुन आग्रह गरेकी थिइन्। एमालेले निर्वाचनमा सहभागी हुने निर्णय गरेकोमा उनले अध्यक्ष ओलीलाई धन्यवादसमेत दिएकी छन्। साथै ११औँ महाधिवेशन सम्पन्न गरी पार्टीका राजनीतिक गतिविधि अघि बढाएकोमा ओलीप्रति खुसी व्यक्त गरेकी छन्।
अध्यक्ष ओलीले सरकारले शान्ति–सुरक्षा कायम गरी निष्पक्ष निर्वाचनको वातावरण सुनिश्चित गरेमा एमाले कुनै हालतमा निर्वाचनबाट पछि नहट्ने विश्वास प्रधानमन्त्रीलाई दिलाएका छन्।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि सत्ता गुमाएका ओली र भदौ २७ गते प्रधानमन्त्री बनेकी कार्कीबीच लामो समय संवादहीन अवस्था थियो। प्रधानमन्त्री बनेको करिब दुई महिनापछि कार्कीले दलहरूसँग औपचारिक संवाद थालेकी हुन्।
प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच यसअघि शीतल निवास र बालुवाटारमा शीर्ष नेतासहित छलफल भइसकेको भए पनि यसरी एक्लाएक्लै बसेर लामो संवाद भएको यो पहिलो पटक हो।
जेन–जी आन्दोलनपछि ओली बालुवाटारबाट बाहिरिएका थिए भने त्यसपछि कार्की प्रधानमन्त्री बनेकी थिइन्। राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा पुस ८ गते प्रधानमन्त्री कार्की, ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शीतल निवासमा पहिलोपटक संयुक्त भेटवार्ता भएको थियो।
त्यस भेटपछि बालुवाटारमै तीन शीर्ष नेताबीच छलफल गर्ने सहमति बनेको थियो। सोहीअनुसार पुस १२ गते प्रधानमन्त्री कार्कीसँग देउवा, ओली र प्रचण्डले बालुवाटारमा वार्ता गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस