Techie IT
२०८२ पौष २६, शनिबार

राजनीतिक स्थिरताका लागि संसद् पुनःस्थापनामा नअल्झिन प्रचण्डको आग्रह


नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा विद्यमान राजनीतिक अस्थिरता, अन्योलता र आर्थिक सङ्कटको समाधानका लागि तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु अपरिहार्य रहेको बताएका छन्।

काठमाडौँमा आज आयोजित एक कार्यक्रममा उनले संसद् पुनःस्थापनाको विषयमा अल्झिनुभन्दा सरकारले सबै राजनीतिक दललाई विश्वासमा लिएर भयरहित वातावरणमा निर्वाचन गराउन संवेदनशील भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्। पूर्वप्रधानमन्त्री दाहालले कम्युनिष्ट शक्तिबीच एकता अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै वैचारिक रूपमा नजिक रहेका वाम शक्तिबीच ध्रुवीकरणको प्रक्रिया सुरु भइसकेको स्पष्ट पारे।

उनले राष्ट्रिय स्वाधीनताको रक्षा, देशको समग्र विकास र जनताको हितका पक्षमा कम्युनिष्ट शक्तिले प्रभावकारी भूमिका खेल्न सक्ने भएकाले ती शक्तिहरूलाई एकताबद्ध गर्नुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा पार्टी सहसंयोजक माधवकुमार नेपालले सुशासन कायम गर्दै जनताको समृद्धिका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै देशभर नेपाली कम्युनिष्ट पार्टीप्रति जनविश्वास र भरोसा बढ्दै गएको दाबी गरे।

यस्तै, पार्टी नेता नारायणकाजी श्रेष्ठले विचार र सिद्धान्त मिल्ने दलहरूलाई एकीकृत गर्दै वामपन्थी ध्रुवीकरणलाई थप सशक्त बनाइने बताएका छन् ।

उक्त कार्यक्रममा गिरिराज केसी, ध्रुव आचार्य, कालुराम चौधरी, दुर्गादत्त शर्मा, दामोदर अधिकारी (घोराही नगरपालिकाका पूर्व मेयर), आर.डी. यादव, पिताम्बर आचार्यलगायत विभिन्न व्यक्तिहरू पार्टीमा प्रवेश गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट