प्रधानमन्त्री र मन्त्रीका चुनावी अभिव्यक्तिप्रति नेकपा नेता पुनको आपत्ति
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले प्रधानमन्त्री सुशीला कार्कीले युवापुस्ता (जेन–जी)लाई निर्वाचनमा जिताउनुपर्छ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। प्रधानमन्त्री तथा मन्त्रीहरूले सार्वजनिक मञ्चबाट यस प्रकारका टिप्पणी गर्नु निर्वाचन आचारसंहिताविपरीत र आपत्तिजनक भएको उनको भनाइ छ।
शुक्रबार (माघ २) निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन आचारसंहिता सम्बन्धी छलफल कार्यक्रममा बोल्दै पुनले आमनिर्वाचनमा राज्यशक्ति र स्रोत–साधनको दुरुपयोग हुन नदिन आयोगले विशेष ध्यान दिनुपर्ने बताए।
उनले भने, “राज्यशक्ति र राज्यका स्रोत–साधनको दुरुपयोग नहोस् भन्नेमा निर्वाचन आयोगको असाध्यै ध्यान जानुपर्छ। हामी बाहिरबाट प्रधानमन्त्री र मन्त्रीहरूले ‘यस्तालाई जिताउनुपर्छ’ वा ‘यस्तालाई हराउनुपर्छ’ भन्ने खालका भाषण सुनिरहेका छौँ। आयोगले यसलाई कसरी हेर्छ ?”
पुनले निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न भरपर्दो अनुगमन संयन्त्र (मेकानिज्म) आवश्यक रहेकोसमेत औँल्याएका थिए ।
“अहिले गैरदलीय सरकार छ। संघ, प्रदेश र स्थानीय तहका सरकारहरू सञ्चालनमा छन्। आचारसंहितामा व्यवस्था त राम्रोसँग गरिएको छ, तर यसको कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने मुख्य प्रश्न हो। यसका लागि निर्वाचन आयोगले बलियो र विश्वासयोग्य मेकानिज्म निर्माण गर्नुपर्छ,” उनले भने।



तपाईको प्रतिक्रिया दिनुहोस