Techie IT
२०८३ श्रावण २१, बिहीबार

रास्वपालाई “नयाँ भनाउँदा” भन्ने जानाजानी प्रयोग गरेको हुँ - महानायक हमाल

भीडले सबैभन्दा ठूलो ताली सत्य बोल्ने व्यक्तिलाई होइन, आफूलाई सबैभन्दा राम्रो महसुस गराउने व्यक्तिलाई दिन्छ


गत फागुन २१ गते सम्पन्न आमनिर्वाचनको पूर्वसन्ध्यामा अभिनेता राजेश हमालले जारी गरेको भिडिओ सन्देश निकै विवादमा परेको थियो। वक्तव्यमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ‘नयाँ भनाउँदा शक्ति’ भन्दै अवमूल्यन गरेका थिए। 

चुनावमा लहर सिर्जना गरिरहेको रास्वपालाई आलोचनात्मक दृष्टिले हेरेपछि हमालले सामाजिक सञ्जालमा ठूलै आलोचना खेप्नुपरेको थियो। रास्वपा समर्थकहरू उनीमाथि खनिए पनि उनले त्यतिबेला आफ्नो टिप्पणी सच्याएका थिएनन्।

त्यसको ५ महिनापछि अभिनेता हमालले सामाजिक सञ्जालमा एक लामो राजनीतिक टिप्पणी सार्वजनिक गर्दै रास्वपाप्रति आफ्नो आलोचनात्मक दृष्टिकोण अझ प्रखर रहेको संकेत गरेका छन्। उनले आफूले निर्वाचनको बेला ‘नयाँ भनाउँदा’ शब्द जानीबुझी नै प्रयोग गरेको स्पष्ट पारेका छन्।

हमालको विश्लेषण: आशा, अनुभव र अस्थिरताको जोखिम
हमालले आफ्नो फेसबुक पोष्टमा निर्वाचनको समयमा आफ्नो अगाडि रहेको निर्णय कठिन परीक्षा भएको उल्लेख गरेका छन्। एकातिर वर्षौंसम्म शासन चलाएका तर जनविश्वास गुमाएका पुराना दलहरू थिए भने अर्कोतिर नयाँ भनाउँदा शक्ति थियो। उनले प्रस्ट्याएका छन्, “मैले ‘नयाँ भनौदा’ भन्ने शब्द जानाजानी प्रयोग गरेको हुँ, किनकि त्यो पार्टी पुरानो त निश्चित रूपमा थिएन, तर पछिल्लो निर्वाचनसम्म आइपुग्दा त्यसलाई पूर्ण रूपमा नयाँ राजनीतिक शक्तिका रूपमा पनि वर्णन गर्न सक्दैनथ्यो।”

शासन सञ्चालन र सार्वजनिक जीवनमा केही अनुभव हासिल गरिसकेको भए पनि जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा देशलाई डोर्‍याउन आवश्यक राजनीतिक परिपक्वता र दीर्घकालीन दृष्टि अझै प्रमाणित हुन बाँकी रहेको उनको तर्क छ। विश्व अशान्त हुँदा आफ्नै देशभित्र राजनीतिक अस्थिरता हुनु राष्ट्रका लागि महँगो साबित हुन सक्ने भन्दै उनले स्थिर सरकारको आवश्यकता औँल्याएका छन्।

महानायक हमालले दार्शनिक सुकरातको भनाइ उद्धृत गर्दै हमालले लोकतन्त्रको सुन्दरता जनमतमा भए पनि यसको सबैभन्दा ठूलो चुनौती पनि त्यहीँ लुकेको बताएका छन्। उनले लेखेका छन्, “धेरै पटक लोकतन्त्रले बुद्धिमत्ताभन्दा प्रदर्शनलाई पुरस्कृत गर्छ। वक्ताहरूले डर, अहंकार र क्षणिक सन्तुष्टिको सहारा लिएर सम्पूर्ण भीडलाई प्रभावित गर्छन्। भीडले सबैभन्दा ठूलो ताली सत्य बोल्ने व्यक्तिलाई होइन, आफूलाई सबैभन्दा राम्रो महसुस गराउने व्यक्तिलाई दिन्छ।”

हमालले इतिहासले केवल कसलाई जितायौँ भनेर मात्र मूल्याङ्कन नगर्ने भन्दै कठिन समयमा राष्ट्रलाई दलभन्दा माथि राखियो कि राखेन भन्ने कुरा मुख्य हुने बताएका छन्। लोकतन्त्र केवल निर्वाचनमा सीमित नभई जिम्मेवारी, उत्तरदायित्व र राष्ट्रप्रतिको समर्पणको संस्कार बन्नुपर्ने उनको निष्कर्ष छ।

 

हमालको फेसबुक पोष्ट हेर्नुहोस् -

सुकरातले (Socrates) भनेका थिए…..लोकतन्त्रको सुन्दरता जनमतमा हुन्छ, तर यसको सबैभन्दा ठूलो चुनौती पनि त्यहीँ लुकेको हुन्छ।धेरै पटक लोकतन्त्रले बुद्धिमत्ताभन्दा प्रदर्शनलाई पुरस्कृत गर्छ। वक्ताहरूले डर, अहंकार र क्षणिक सन्तुष्टिको सहारा लिएर सम्पूर्ण भीडलाई प्रभावित गर्छन्। उनीहरूले जटिल समस्याहरूका लागि अत्यन्तै सरल समाधानको आश्वासन दिन्छन्। अनि भीडले सबैभन्दा ठूलो ताली सत्य बोल्ने व्यक्तिलाई होइन, आफूलाई सबैभन्दा राम्रो महसुस गराउने व्यक्तिलाई दिन्छ.... 
...... गत निर्वाचनअघि मैले एउटा चिन्ता व्यक्त गरेको थिएँ, र आज पनि त्यो चिन्ता उत्तिकै सान्दर्भिक देखिन्छ। विश्व तीव्र रूपमा बदलिँदै थियो,र छपनी। भूराजनीतिक शक्ति–सन्तुलन फेरिँदै थियो, आर्थिक गठबन्धनहरू पुनः परिभाषित हुँदै थिए। नेपालजस्तो सानो तर रणनीतिक दृष्टिले महत्वपूर्ण राष्ट्रका लागि यो अवस्था अत्यन्त संवेदनशील थियो र छपानि।यस्तो समयमा दूरदृष्टि, परिपक्वता र राष्ट्रिय हितलाई सर्वोपरि राख्ने नेतृत्व अपरिहार्य थियो।त्यो निर्वाचनमा मेरो सामु रहेको निर्णय साँच्चै नै एउटा कठिन परीक्षा थियो।एकातिर वर्षौंदेखि शासन सञ्चालन गर्दै आएका, राजनीतिक रूपमा अपेक्षाकृत अनुभवी तर सत्तामा रहँदा जनविश्वास गुमाउँदै धमिलो सार्वजनिक छवि बोकेका पुराना राजनीतिक दलहरू थिए। अर्कोतिर नयाँ भनौदा पार्टी थियो। मैले "नया भनौदा" भन्ने शब्द जानाजानी प्रयोग गरेको हुँ, किनकि त्यो पार्टी पुरानो त निश्चित रूपमा थिएन, तर पछिल्लो निर्वाचनसम्म आइपुग्दा त्यसलाई पूर्ण रूपमा नयाँ राजनीतिक शक्तिका रूपमा पनि वर्णन गर्न सकिँदैनथ्यो। शासन सञ्चालन र सार्वजनिक जीवनमा उसले केही अनुभव हासिल गरिसकेको थियो। परम्परागत दलहरूको तुलनामा त्यो नयाँ अवश्य थियो, तर २०७९ सालको निर्वाचनमा जस्तो शतप्रतिशत नयाँ राजनीतिक शक्ति भने अब रहिसकेको थिएन। 
त्यसैले दलीय आग्रहभन्दा माथि उठेर देशलाई हेर्ने नागरिकहरूले आशा र अनुभवबीच सन्तुलन खोज्दै नयाँ शक्तिलाई 'बेनिफिट अफ डाउट' दिन सक्ने अवस्था थियो। तर नयामा  राष्ट्रलाई जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा डोर्‍याउन आवश्यक राजनीतिक परिपक्वता, दीर्घकालीन दृष्टि र शासन सञ्चालनको अनुभव अझै प्रमाणित हुन बाँकी थियो। 
नेपाललाई सबैभन्दा बढी आवश्यक थियो एउटा स्थिर सरकार। स्थिरता भनेको निरन्तरता हो, जसले कठिन निर्णय लिन, राष्ट्रिय हितको रक्षा गर्न र बदलिँदो विश्व परिवेशमा विवेकपूर्ण ढंगले अघि बढ्न सक्ने क्षमता प्रदान गर्छ…. 
…..विश्व अशान्त हुँदा आफ्नै देशभित्र राजनीतिक अस्थिरता हुनु राष्ट्रका लागि निकै महँगो साबित हुन सक्छ। लोकतन्त्रले कहिल्यै पूर्ण विकल्पको ग्यारेन्टी गर्दैन। लोकतन्त्रले हामीलाई सिक्ने, गल्ती सच्याउने र अझ राम्रो भविष्य निर्माण गर्ने अवसर दिन्छ।
विश्व अझै परिवर्तनशील छ। भूराजनीतिक समीकरणहरू समय समयमा बदलिनेछन्। सरकारहरू आउनेछन्, जानेछन्। तर नेपाल बलियो तब मात्र हुनेछ, जब हाम्रो लोकतन्त्र बलियो हुनेछ; जब नागरिकको विवेक, संस्थाहरूको परिपक्वता र राष्ट्रिय हितप्रतिको प्रतिबद्धता कुनै पनि दल वा व्यक्तिको स्वार्थभन्दा माथि रहनेछ।
इतिहासले हामीलाई केवल कसलाई जितायौँ भनेर मात्र मूल्याङ्कन गर्ने छैन। इतिहासले हेर्नेछ—कठिन समयमा हामीले राष्ट्रलाई दलभन्दा माथि राख्यौँ कि राखेनौँ, विभाजनभन्दा एकतालाई रोज्यौँ कि रोजेनौँ, क्षणिक राजनीतिक लाभभन्दा दीर्घकालीन राष्ट्रिय हितलाई प्राथमिकता दियौँ कि दिएनौँ।
हामीले निर्माण गर्नुपर्ने नेपाल त्यही हो—जहाँ लोकतन्त्र केवल निर्वाचनमा सीमित नहोस्, बरु जिम्मेवारी, उत्तरदायित्व, दूरदृष्टि र राष्ट्रप्रतिको समर्पणको संस्कार बनोस्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट