Techie IT
२०८३ असोज ५, सोमबार

अर्नबको त्रासमा नेपाल, यस्तो छ सम्भावित भारी वर्षाको जोखिम


बंगालको खाडीमा विकसित भइरहेको नयाँ मौसमी प्रणालीका कारण आगामी असोज ८ देखि १२ गतेसम्म नेपालका विभिन्न भूभागमा भारीदेखि अत्यधिक भारी वर्षा हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन्। केही मौसम पूर्वानुमान मोडलहरूले यस अवधिमा अधिकतम ७४१ मिलिमिटरसम्म वर्षा हुन सक्ने संकेत गरेपछि देशभर सतर्कता अपनाउन आग्रह गरिएको छ।

भारतीय मौसम विभाग र विभिन्न अन्तर्राष्ट्रिय मौसम मोडलहरूका अनुसार उत्तर अण्डमान सागर क्षेत्रमा बनेको न्यूनचापीय प्रणाली पश्चिम-उत्तरतर्फ अघि बढिरहेको छ। यो प्रणाली सेप्टेम्बर २१-२२ सम्म डिप्रेसन तथा गहिरो डिप्रेसनमा परिणत भई दक्षिण ओडिशा र उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्रमा पुग्ने देखिएको छ। त्यसपश्चात प्रणालीको अवशेष र जलवाष्पयुक्त वायु उत्तरपूर्वतर्फ फैलिँदा नेपालमा पनि यसको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्न सक्नेछ। पश्चिमी वायु र बंगालको खाडीको प्रणालीबीच हुने अन्तरक्रियाले नेपालमा वर्षाको मात्रा निर्धारण गर्नेछ ।

हाल बंगालको खाडीमा विकसित भइरहेको प्रणाली सामान्य न्यूनचापीय क्षेत्र मात्र हो। यदि यसले आवश्यक चक्रवाती तीव्रता हासिल गरेमा उत्तर हिन्द महासागरका लागि तय गरिएको नामकरण सूचीअनुसार यसको नाम ‘अर्नब’ रहनेछ । यो नाम बंगलादेशले प्रस्ताव गरेको हो। तसर्थ, अहिले नै चक्रवात नै आइसकेको भनेर भ्रम फैलाउनुको सट्टा वैज्ञानिक आधारमा यसलाई न्यूनचापीय प्रणालीको प्रभाव भन्नु उपयुक्त हुन्छ।

नेपालमा पर्न सक्ने मुख्य जोखिमहरू
असारदेखि निरन्तरको वर्षाले जमिन पहिल्यै भिजिसकेको र हिलो भइसकेको अवस्थामा थप ठूलो पानी पर्दा पहाडी क्षेत्रमा पहिरो जाने उच्च जोखिम हुन्छ। भदौ १० गतेको भोटेकोशी बाढी र गत वर्षको असोज १० को विपद्बाट पाठ सिक्दै यसपटक थप सावधानी अपनाउनुपर्ने देखिएको छ।

यसैगरी, साना तथा ठूला नदीहरू (विशेषगरी भोटेकोशी, त्रिशूली, कोसी, नारायणी र कर्णाली करिडोर) मा अचानक बहाव तीव्र हुन सक्छ।

जलवायु तथा मौसम विज्ञ उज्ज्वल उपाध्याय र डा. विनोद पोखरेलले यो पूर्वानुमानको उद्देश्य जनमानसमा त्रास फैलाउनु नभई सम्भावित जोखिमबाट बच्न समयमै सचेत गराउनु भएको स्पष्ट पार्नुभएको छ। गत वर्षको मनसुनका बेला पनि शक्तिशाली देखिएका केही प्रणालीहरू नेपाल आइपुग्दा कमजोर भएका उदाहरण रहेकाले अत्यधिक नआत्तिन तर उच्च सतर्कता अपनाउन उनीहरूको सुझाव छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट