Techie IT
२०८३ असोज ५, सोमबार

मौसम अपडेट: रसुवा, नुवाकोट, धादिङ र गोरखामा भारी वर्षाको चेतावनी


देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव परेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको छ।

हाल देशका विभिन्न भागको मौसममा बदली आएको छ। कोशी र बागमती प्रदेशका सबै भूभागका साथै गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा पूर्णतया बादल लागेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्र तथा मधेस प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। यस्तै, कोशी र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबारको मौसम पूर्वानुमान
सोमबार देशका हिमाली र पहाडी भूभाग, मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागमा साधारणतया बदली रहनेछ भने कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बदली हुनेछ। 

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ। मधेस प्रदेशका साथै कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

नेपाल मौसम विज्ञान विभागले विपद् प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखामा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै असोज ७ गते बिहानसम्म यी जिल्लाका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने उल्लेख गरेको छ। यसैबीच, चितवनमा मध्यम वर्षाको सम्भावना रहेको छ भने गएराति चितवनको कालीखोला वर्षा मापन केन्द्रमा ४१.४ मिलिमिटर वर्षा मापन गरिएको थियो। मौसम महाशाखाले रसुवा, नुवाकोट, धादिङ र गोरखालाई पहेँलो रङले संकेत गर्दै मौसमसम्बन्धी अद्यावधिक रहन आग्रह गरेको छ।

गएको भदौ १० गतेको भोटेकोशी बाढीपछि तहसनहस भएको सडक सञ्जाल पुनःस्थापित गर्दै विपद् व्यवस्थापनको काम जारी रहेकाले ती जिल्लामा रहेकाहरूलाई आधिकारिक सूचनामा विशेष ध्यान दिन भनिएको छ। वर्षाका कारण नदी तथा खोलानालामा जलसतह बढ्न सक्ने तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम थपिन सक्ने चेतावनी दिइएको छ।

यसैबीच, बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण आगामी असोज ८ गतेदेखि १२ गतेसम्म देशभर वर्षाको गतिविधि बढ्न सक्ने भन्दै मौसमविद्हरूले पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेका छन्। यस विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आइतबार मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठक बसी वर्षा गराउने प्रणालीको निरन्तर निगरानी गर्ने र सोहीअनुरूप आवश्यक तयारीका लागि सम्बन्धित निकायलाई सतर्क गराउने निर्णय भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट