बाढीग्रस्त क्षेत्रको अनुगमनपछि कांग्रेस नेता आङ्देम्बेले बुझाए प्रधानमन्त्री बालेनलाई ९ बुँदे ध्यानाकर्षणपत्र
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गर्दै बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतलाई तीव्रता दिन आग्रह गरेका छन्। बाढीग्रस्त क्षेत्र नुवाकोटको ढुंगेबजार, देवीघाटलगायतका स्थानको स्थलगत अनुगमन गरेर फर्किएपछि नेता आङ्देम्बेले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी प्रधानमन्त्रीलाई ९ बुँदे ध्यानाकषर्णपत्र बुझाएका हुन्।
शनिबार बिहान ११ देखि साढे ११ बजेसम्म भएको उक्त भेटवार्तामा नेता आङ्देम्बेले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा सरकारले गर्नुपर्ने आपतकालीन तथा दीर्घकालीन कार्यहरूबारे ध्यानाकर्षण गराएका छन्।
आङ्देम्बेले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षणपत्र-
सम्माननीय प्रधानमन्त्रीज्यू,
विषय : भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार तथा राहत कार्यबारे
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा स्थलगत रूपमा देखिएका समस्या समाधानका लागि सरकारको तत्काल ध्यानाकर्षण गराउन चाहन्छु।
१. हवाई उद्धारलाई थप प्रभावकारी बनाइयोस्। नेपाली सेनाले गरिरहेको उद्धार कार्य सराहनीय छ। तर, रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर परिचालन गरियोस्।
२. सडक र पुल तत्काल सञ्चालनमा ल्याइयोस्। रसुवा, नुवाकोट र धादिङका अवरुद्ध सडक सफा गरी आवागमन सुचारु गरियोस्। क्षतिग्रस्त १९ भन्दा बढी पुलमध्ये तत्काल कम्तीमा ७ स्थानमा बेलीब्रिज जडान गरियोस्।
३. विद्युत् र सञ्चार सेवा तत्काल सुचारु गरियोस्। अवरुद्ध विद्युत् तथा टेलिफोन सेवा सञ्चालन गरी उद्धार, राहत र समन्वयलाई सहज बनाइयोस्।
४. बेपत्ताको खोजी र शव व्यवस्थापन तीव्र पारियोस्। बाढीले बगाएर ल्याएका शवहरू यत्रतत्र रहेकाले स्थलगत खोज तथा उद्धार टोली परिचालन गरी बेपत्ताको खोजी, शव पहिचान र उचित व्यवस्थापन गरियोस्।
५. उद्धार गरिएका नागरिकको यातायात व्यवस्था गरियोस्। सुरक्षित स्थानमा ल्याइएका नागरिकलाई आवश्यकताअनुसार काठमाडौंसम्म पुर्याउने यातायातको व्यवस्था गरियोस्।
६. घाइते तथा ज्येष्ठ नागरिकको उपचारमा विशेष ध्यान दिइयोस्। नुवाकोट जिल्ला आयुर्वेद केन्द्रमा रहेका घाइतेका लागि आवश्यक अक्सिजन, औषधि तथा स्वास्थ्यकर्मीको व्यवस्था गरियोस्। ज्येष्ठ नागरिकका लागि समेत पर्याप्त शय्या उपलब्ध गराइयोस्।
७. स्थानीय तहसँग प्रभावकारी समन्वय गरियोस्। उद्धार तथा राहतमा स्थानीय सरकारसँग संघीय सरकारले आवश्यक समन्वय र सहकार्य बढाओस्। राहत वितरणमा सहयोग गर्न चाहने सामाजिक संघसंस्थालाई समेत सहजीकरण गरियोस्।
८. अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिइयोस्। सुरुङ, भग्नावशेष वा अन्य स्थानमा नागरिक फसेको सम्भावना रहेकाले उनीहरूको जीवितै उद्धारका लागि आवश्यकताअनुसार अन्तर्राष्ट्रिय उद्धारकर्ता तथा विशेषज्ञको सहयोग लिइयोस्।
९. त्रिशूलीलगायत नदी क्षेत्रमा तुइनको शीघ्र व्यवस्था गरियोस्।
विपद्को यस कठिन घडीमा नागरिकको जीवन रक्षा सर्वोच्च प्राथमिकता राखी उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई तीव्र बनाउन सरकारको विशेष ध्यानाकर्षण गराउँदछु।
भीष्मराज आङ्देम्बे
नेता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस
मिति स् २०८३/०५/१३



तपाईको प्रतिक्रिया दिनुहोस