नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सरकारको आलोचना
बाढी र पहिरोको विपदले ठूलो क्षति पुर्याएको अवस्थामा सरकारले आफ्नो क्षमता प्रर्दशन नगरेको भन्दै नेपाली कांग्रेस संसदीय दलको बैठकमा गम्भीर आलोचना भएको छ। बैठकमा सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको बोलिमा पनि प्रश्न उठाएका छन्।
बैठकमा, सांसद राजन केसीले नख्खु क्षेत्रमा बाढीले पाएको जनताको उद्धारमा सरकारले गम्भिर लापरवाहि गरेको बताएका छन्। उनले गृहमन्त्रीलाई आक्रोशित हुँर्दै भने, "नख्खुमा जनतालाई बाढीबाट बचाउन सरकारको उपस्थिति किन भएन?" बाढी पहिरोको उद्धारमा सरकार चुकेको र सरकारी संयन्त्रको भौतिक उपस्थिति हुन नसकेको भन्दै सांसद केसीले गृहमन्त्रीको आलोचना गरेका थिए । ‘नख्खुमा किन त्यस्तो भयो ? डोरी र डुङ्गा लिएर समयमा सरकार किन पुगेन भन्दै उहाँले प्रश्न गर्नुभयो ।’
सांसद नारायण खड्काले चाडपर्वको समयमा घर जान चाहने जनतालाई व्यवस्था गर्न नसक्ने अवस्था हुँदा अर्को विपत् आइपर्ने चेतावनी दिएका छन्। उनले भने, "दसैँ आउन लाग्यो, र जनतालाई घर पुर्याउन नसकिए अर्को विपत् आइपर्छ त्यसैले सरकारले समयमै सोचोस् ।
बैठकमा गृहमन्त्री रमेश लेखकले विपदको अवस्थाबारे जानकारी दिएका थिए। ‘हामीले ३३ प्रतिशत उच्च जोखिममा भएका जनताको उद्धार गरेका हौँ । समयमै उद्धार नभएको भए ठुलो क्षति हुने थियो । नख्खुलाई मात्र देखाएर सरकारको आलोचना गर्नु राम्रो होइन ।’ गृहमन्त्री लेखकले सरकारले ७ सयभन्दा बढी मानिसको हेलिकप्टरबाट उद्धार गरेको भन्दै तत्काल अस्थायी आवास निर्माण गर्ने र आगामी दिनमा स्थानी आवास बनाउने व्यवस्था मिलाइएको जिकिर गरेका थिए । क्षतिग्रस्त संरचनाको मर्मत गरी सञ्चालनका लागि सरकारले काम अगाडि बढाएको उनले बैठकमा जानकारी दिए ।
बैठकमा सांसद शंकर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीमाथि प्रश्न उठाएका थिए । अमेरिकाबाट नेपाल फर्किएपछि ओलीले जे मनमा लाग्यो त्यही बोल्दै हिँडेको उनको भनाइ थियो । ‘प्रधानमन्त्री ओलीको बोली जथाभाबी भयो । उहाँको प्रत्येक बोलीको जिम्मेवारी हामीले लिनुपर्छ । उहाँ स्वदेश फर्कने बित्तिकै के बोलेको ? यो ठिक भएन भनेर सांसद भण्डारीले सन्तुष्टि व्यक्त गरेका थिए ।
बैठकले गरेका निर्णयहरू :
दिवङ्गतहरूको स्मृति: बाढी र पहिरोका कारण मृत्यु भएका व्यक्तिहरूप्रति गहिरो दुःख व्यक्त गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
उद्धार कार्यको तीव्रता: बाढी र पहिरोका कारण अझै पनि उद्धारको प्रतीक्षामा रहेका नागरिकहरूको उद्धार कार्य यथाशीघ्र सम्पन्न गर्नुपर्ने भन्दै सरकार लाई आग्रह गर्ने निर्णय भएको छ।
सडक मर्मत कार्य: चाडपर्वका लागि नागरिकहरूलाई घर जान सजिलो बनाउने उद्देश्यले अवरुद्ध सडकहरूको मर्मत कार्य छिटो गरिनुपर्ने र वैकल्पिक मार्गहरूको व्यवस्था गर्न अनुरोध गरिएको छ।
भाडा दरमा नियन्त्रण: हवाई र सडक यातायातको भाडा दर स्थिर राख्न र अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई सचेत गराउने निर्णय गरिएको छ।
आर्थिक सहयोग: राहत व्यवस्थापन गर्न कांग्रेसका सांसदहरूको १५ दिनको पारिश्रमिक कट्टा गरी सरकारले राहतमा सहयोग गर्ने निर्णय गरियो।
लेबनानमा रहेका नेपालीहरूको सुरक्षा: इजरायल र लेबनान बीचको युद्धका कारण जोखिममा रहेका नेपालीहरूको सुरक्षा र स्वदेश फिर्तीको व्यवस्था मिलाउन सरकारसँग माग गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस