Techie IT
२०८३ श्रावण १३, बुधबार

कप्तानगञ्ज घटना: दुई जनाको अवस्था गम्भीर, गोली कसरी चल्यो? भन्नेमा मात्र प्रधानमन्त्रीको चासो

सुरक्षाकर्मीको नाम-दर्जा सोधिएको विषयमा सुरक्षा प्रमुखहरूले भित्री रूपमा असन्तुष्टि


सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच उत्पन्न हिंसात्मक झडपपछि चौथो दिन बुधबार अवस्था केही सामान्य बनेको छ। नेपाली सेनासहित सुरक्षा निकायको बाक्लो परिचालन, कडा कर्फ्यु र उच्च सरकारी अधिकारीहरूको निरन्तर उपस्थितिका कारण बुधबार थप झडप भने हुन पाएको छैन।

यद्यपि, सडकहरू सुनसान भए पनि स्थानीयबासीबीच आपसी अविश्वास र सम्भावित हिंसाको त्रास भने कायमै छ। आफैं जन्मे-हुर्केको गाउँमा एक्लै हिँड्न डराउनुपर्ने अवस्था बनेको स्थानीयको भनाइ छ।

नागरिक समाज र मानवअधिकार समुदायका २६ जना प्रतिनिधिले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको स्वतन्त्र र निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सरकारसँग माग गरेका छन्। सुरक्षाकर्मीबाट गोली लागेर ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूले भिड नियन्त्रणका क्रममा सुरक्षा निकायले संयमता नअपनाएको र घातक गोली चलाइएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। विज्ञप्तिमा घाइतेहरूको निःशुल्क उपचार, पीडित परिवारलाई राहत, क्षतिपूर्ति तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरिएको छ।

घाइतेमध्ये दुईको अवस्था चिन्ताजनक
झडप नियन्त्रणका क्रममा चलेको गोली लागेर घाइते भएका ९ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहता (पेटमा गोली लागेका) र १८ वर्षीय अमित यादव (हात र कोखामा गोली लागेका)। दुवैको शल्यक्रिया सम्पन्न भए पनि अवस्था गम्भीर छ। २१ वर्षीय रवीन्द्रकुमार मेहताको नसाको शल्यक्रियापछि भेन्टिलेटरमा उपचार भइरहेको छ भने सुनील मेहता र अमितकुमार यादवको अवस्था सामान्य छ। अर्का घाइते १८ वर्षीय मिथिलेश मेहता (पेटमा गोली लागेका) को आईसीयूमा उपचार भइरहेको छ भने हरेराम यादव र अमलेश मेहताको अवस्था सामान्य छ।

गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित ५ सदस्यीय सरकारी छानबिन समिति बुधबार घटनास्थल कप्तानगञ्ज पुगेको छ। समितिले मृतकका परिवार, घाइते, जनप्रतिनिधि र स्थानीयसँग तथ्य संकलन सुरु गरेको छ।

मृतक ओमप्रकाशका परिवार र स्थानीयबासीले ज्ञापनपत्र बुझाउँदै मृतकलाई सहिद घोषणा गर्न, क्षतिपूर्ति दिन, घटनाका दिन पटक-पटक बत्ती काटिनुको कारण र शंकास्पद कल डिटेल अनुसन्धान गर्न, अवैध हातहतियार नियन्त्रण गर्न र आन्दोलनकारीमाथि झुटा मुद्दा नलगाउन माग गरेका छन्। संयोजक थापाले प्राप्त तथ्य र जनभावनालाई माथिल्लो निकायमा जस्ताको तस्तै पुर्याउने प्रतिबद्धता जनाएका छन्।

गोली कसले र किन चलायो?: प्रधानमन्त्री
घटनापछि उत्पन्न परिस्थितिबारे प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार विभिन्न सुरक्षा निकायका प्रमुखहरूसँग परामर्श गरेका छन्। बैठकमा प्रधानमन्त्री शाहले लगातार "गोली कसरी र कसको आदेशमा चल्यो?" भन्दै कडा प्रश्न सोधेका थिए।

बैठकमा उपस्थित नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (IGP) दानबहादुर कार्की र सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षक (IGP) नारायणदत्त पौडेलले घटनाको अनुसन्धान भइरहेको जवाफ दिए पनि गोली चलाउने व्यक्तिको पहिचानबारे प्रस्ट जवाफ दिएनन्। फिल्डमा खटिएर भिड नियन्त्रण गर्दा आदेश कार्यान्वयन गर्ने र आदेश दिने सुरक्षाकर्मीको नाम-दर्जा सोधिएको विषयमा सुरक्षा प्रमुखहरूले भित्री रूपमा असन्तुष्टि जनाएको स्रोतको दाबी छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट