सरकारद्वारा तीन दिन राष्ट्रिय शोक घोषणा

सरकारले हालैका बाढी, पहिरो र डुबानका घटनामा परी २०० भन्दा बढी नागरिकको मृत्यु भएपछि तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको हो।
सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार, "सरकारले तीन दिन राष्ट्रिय झन्डा झुकाउने र सम्पूर्ण राष्ट्रले शोक मनाउने निर्णय गरेको छ।" यो निर्णयसँगै देशभरका सरकारी कार्यालय, शिक्षण संस्था र सार्वजनिक स्थलहरूमा झन्डा झुकाइनेछ।
बैठकले प्राकृतिक विपत्तिको प्रभावलाई कम गर्न र प्रभावित क्षेत्रका पुनर्निर्माण कार्यलाई तीव्रता दिनका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। यस कोषलाई थप सशक्त बनाउँदै सरकारले संकट व्यवस्थापनमा तदारुकता देखाएको छ। साथै, प्रधानमन्त्री र मन्त्रिपरिषद्का सबै सदस्यहरूले एक महिनाको तलब र सेवा सुविधा पनि उक्त कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।
बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा सडक यातायात अवरुद्ध भएको छ। यसलाई ध्यानमा राख्दै सरकार अवरुद्ध भएका सडक तत्काल मर्मत तथा सञ्चालन गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ। बैठकले कालोबजारी र महंगी नियन्त्रणमा पनि कडाइ गर्ने निर्णय गरेको छ, जसले बाढी प्रभावित क्षेत्रमा राहत सामग्रीको सहज आपूर्ति सुनिश्चित गर्न मद्दत गर्नेछ।
देशमा हाल देखिएको विपत्तिले हजारौं परिवारलाई प्रभावित बनाएको छ। सरकारले बाढी र पहिरोले ग्रसित जनतालाई तत्काल राहत दिन विभिन्न उपायहरू अपनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस