Techie IT
२०८३ असार ३२, बिहीबार

राजनीतिक ब्यानरबाजीले अर्जेन्टिना सङ्कटमा: फाइनल पुगेकै दिन फिफाको कडा कारबाही भोग्नुपर्ने जोखिम


विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको अर्जेन्टिना फिफाको कडा अनुशासनिक कारबाहीमा पर्ने जोखिम बढेको छ।

बिहीबार बिहान एटलान्टा स्टेडियममा इंग्ल्याण्डलाई २-० गोल अन्तरले पाखा लगाएपछि अर्जेन्टिनी खेलाडीहरूले प्रदर्शन गरेको गैर-खेलकुद गतिविधि (राजनीतिक हर्कत) का कारण फिफाले कारबाही प्रक्रिया अघि बढाउन सक्ने बिबिसी स्पोर्ट्सले उल्लेख गरेको छ।

के हो विवादको चुरो?
खेल सकिएलगत्तै अर्जेन्टिनी खेलाडीहरूले मैदानमै 'फकल्यान्ड टापु' (जसलाई अर्जेन्टिनाले माल्भिनास भन्दछ) आफ्नो देशको भूभाग भएको दाबी गरिएको ब्यानर प्रदर्शन गरेका थिए। खेलाडीहरूले ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ (माल्भिनास अर्जेन्टिनाकै हो) लेखिएको राजनीतिक नारासहितको ब्यानर बोकेर जितको उत्सव मनाएपछि यो विवाद अन्तर्राष्ट्रिय फुटबलमा चुलिएको हो।

फकल्यान्ड टापु दक्षिण–पश्चिम एटलान्टिक महासागरमा अवस्थित बेलायतको वैदेशिक भूभाग हो, जसमाथि अर्जेन्टिनाले लामो समयदेखि आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ। यही भूभागको विवादलाई लिएर सन् १९८२ को अप्रिलदेखि जुनसम्म ७४ दिन लामो भीषण युद्ध भएको थियो। उक्त युद्धमा ६५५ अर्जेन्टिनी सैनिक, २५५ बेलायती सैनिक र टापुका ३ सर्वसाधारणले ज्यान गुमाएका थिए।

खेलकुदमा राजनीतिक एजेन्डा प्रस्तुत गर्न नपाइने फिफाको कडा नियम छ। यसअघि सन् २०१४ मा स्लोभेनियाविरुद्धको मैत्रीपूर्ण खेलअघि पनि अर्जेन्टिनी खेलाडीले यही ब्यानर प्रदर्शन गर्दा फिफाले अर्जेन्टिना फुटबल संघलाई २० हजार पाउन्ड जरिवाना गरेको थियो। त्यतिबेला फिफाले यसलाई राजनीतिक गतिविधि र टोलीको आचारसंहिता उल्लंघनको ठहर गरेको थियो।

तनावपूर्ण वातावरणका बीच अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भियारुएलले सामाजिक सञ्जाल 'एक्स' (ट्विटर) मा सैनिकहरूको भिडियो साझा गर्दै राष्ट्रियताको आगोमा घिउ थप्ने काम गरेकी छिन्।

उनले लेखेकी छिन्:- "उनीहरूले स्टेडियममा ब्यानर लैजान प्रतिबन्ध लगाए, तर उनीहरूले बिर्सिए कि हामी माल्भिनासलाई आफ्नो रगत र हृदयमा बोकेर हिँड्छौं।"

यसअघि उनले सेमिफाइनल खेललाई 'अतिक्रमणकारीलाई उनीहरूको स्थान देखाउने अवसर' भन्दै उत्तेजक टिप्पणी गरेकी थिइन्। यसअघि अन्तिम १६ को खेलमा इजिप्टलाई ३-२ ले हराउँदा पनि अर्जेन्टिनी खेलाडीहरूले माल्भिनाससँगै डिएगो म्याराडोना र लियोनल मेसीको नाम जोडेर नाराबाजी गरेका थिए।

प्रशिक्षकको फरक मत
राजनीतिक रूपमा वातावरण तातिरख्दा अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले भने फुटबल र राजनीतिलाई अलग राख्नुपर्ने स्पष्ट पारेका थिए।

"यो केवल फुटबल खेल हो। इतिहासको त्यो दुःखद अध्यायको सम्मानका लागि पनि म फुटबल र राजनीति मिसाउन चाहन्नँ। संसारका अन्य ठाउँमा पनि युद्ध भइरहेका छन् र हामी त्यसको आलोचना गर्छौं। ज्यान गुमाउनेहरूप्रति हाम्रो सम्मान छ, तर खेललाई राजनीतिसँग जोडिनु हुँदैन," सेमिफाइनलअघि स्कालोनीले भनेका थिए।

ऐतिहासिक तनावका कारण कडा सुरक्षा व्यवस्थाबीच खेलाइएको उक्त हाई-भोल्टेज सेमिफाइनलमा एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले खेलको अन्तिम समयमा गोल गर्दै अर्जेन्टिनालाई २-० को जित दिलाएका थिए।

अब विश्वविजेता बन्नका लागि अर्जेन्टिनाले आउँदो सोमबार बिहान स्पेनको सामना गर्नेछ। तर, फाइनल अगाडि फिफाले चाल्न सक्ने सम्भावित कारबाहीको कदमले अर्जेन्टिनी क्याम्पमा तनाव सिर्जना गरिदिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट