इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि रोकियो - राष्ट्रपति ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको नियोजित सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको घोषणा गरेका छन्। इरानसँग सम्झौताको प्रारम्भिक रूपरेखा तयार भइसकेको दाबी गर्दै उनले तत्कालका लागि युद्धको कदम नचाल्ने निर्णय लिएका हुन्।
आइतबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत राष्ट्रपति ट्रम्पले भने, “दोस्रो विश्वयुद्धपछिको सबैभन्दा शक्तिशाली सैन्य क्षमता अमेरिकासँग छ र हामी कारबाहीका लागि पूर्ण रूपमा तयार छौँ। तर, इरान र मध्यपूर्वका अन्य केही देशहरूको अनुरोध तथा सम्झौताको सम्भावनालाई मध्यनजर गर्दै आक्रमण रोकिएको हो।”
ट्रम्पले प्रस्तावित सम्झौताका मुख्य बुँदाहरू सार्वजनिक गर्दै होर्मुज जलमार्गलाई कुनै अवरोधबिना तत्काल सञ्चालनमा ल्याउने र इरानको आणविक खतराको अन्त्य गर्ने विषय प्राथमिकतामा रहेको बताएका छन्। उनले यो निर्णय इरानको स्थिरता र विश्वको भविष्यलाई ध्यानमा राखेर गरिएको उल्लेख गरेका छन्। साथै, यस निर्णयमा इजरायलको पनि समर्थन रहेको ट्रम्पको दाबी छ।
यसअघि बुधबार अमेरिकाले इरानभित्र ‘भारी मात्रामा आक्रमण’ गरेको जनाएको थियो। यद्यपि, केही दिनयता कुनै नयाँ आक्रमण नभएको अवस्थामा ट्रम्पको यो पछिल्लो भनाइ सार्वजनिक भएको हो। ह्वाइट हाउसले यस विषयमा थप विवरण दिन बाँकी छ।



तपाईको प्रतिक्रिया दिनुहोस