Techie IT
२०८२ वैशाख २५, बिहीबार

भारतद्वारा पाकिस्तानमा मिसाइल आक्रमण, ३० जनाको मृत्यु


आक्रमण पछि लाहोरबाट झण्डै ३० किलोमिटर टाढा पर्ने मुरिदकेमा आफ्नो घर खाली गरी सुरक्षित स्थानमा पुगेको एक परिवार । AFP

जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान-नियन्त्रित कश्मीरमा मिसाइल आक्रमण गरेको छ । भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ नाम दिएको यो कारबाहीमा आतंकवादी संरचनाहरूलाई लक्षित गरिएको जनाएको छ ।

भारत सरकारद्वारा जारी गरिएको आधिकारिक वक्तव्यमा भनिएको छ, “पाकिस्तान र त्यसद्वारा कब्जा गरिएको कश्मीरबाट भारतमाथि आतंकवादी हमला योजना बनाइ कार्यान्वयन गरिएको पाइएकाले सो क्षेत्रका संरचनाहरू निशाना बनाइएका हुन् ।”

नौ स्थानमा आक्रमण, ३० को मृत्युको दाबी

भारतीय अनलाइन पत्रिका ‘द भाष्कर’ का अनुसार भारतले मुजफ्फराबाद, बाघ, गुलपुर, कोटली, भीमबेर, सियालकोट, मुरिदके, चक अमरु र बहावलपुरमा लक्षित एयरस्ट्राइक गर्दा कम्तीमा ३० जनाको मृत्यु भएको दाबी गरिएको छ । त्यस्तै, रोयटर्सका अनुसार सीमावर्ती क्षेत्रहरूमा गोलाबारी र विस्फोटका रिपोर्टहरू पनि आएका छन् ।

२२ अप्रिलमा जम्मु-कश्मीरको पहलगाममा भएको आक्रमणमा १ नेपालीसहित २६ जनाको मृत्यु भएपछि दुई देशबीचको सम्बन्धमा पुनः तनाव चुलिएको छ । भारतले उक्त आक्रमणमा पाकिस्तानको संलग्नता रहेको भन्दै युद्धविराम सम्झौताकै उल्लंघन भएको आरोप लगाएको छ ।

भारतीय सेनाले सामाजिक सञ्जाल एक्समा लेखेको छ, “पाकिस्तानले फेरि युद्धविराम उल्लंघन गरेको छ, र हामी त्यसको उचित जवाफ दिइरहेका छौं ।”

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतको आक्रमणलाई “कायरतापूर्ण” भन्दै त्यसको “कडा जवाफ दिइनेछ” भनेका छन्। उनले लेखेका छन्, “पाकिस्तानका पाँच स्थानमा आक्रमण भएको छ । हामी एकजुट छौं र देशको रक्षा गर्न पूर्ण तयार छौं ।”

पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले भारतले आतंकवादी संरचना भनिएको स्थानहरू वास्तवमा सर्वसाधारणको बस्ती रहेको र त्यहाँ एक महिला र एक बालक मारिएको दाबी गरेका छन् । “त्यहाँ दुई मस्जिद छन् । म अन्तर्राष्ट्रिय मिडियालाई स्वयं आएर यी स्थानहरू हेर्न आग्रह गर्छु,” उनले भने ।

प्रत्यक्षदर्शीहरू भन्छन्: मध्यरातमा विस्फोट, त्रासदीपूर्ण स्थिति

मुजफ्फराबादका बासिन्दाहरूले बीबीसीसँगको कुराकानीमा मध्यरातमा विस्फोटका आवाजले होश उडाएको बताएका छन् । स्थानीय शहनवाजले भने, “हामी निद्रामा थियौं, अचानक विस्फोटले झस्कायो, अहिले हामी बाहिर छौं र सुरक्षित स्थान खोज्दैछौं।”

त्यस्तै मोहम्मद वहीदले भने, “घर हल्लियो, तुरुन्त बाहिर निस्के, त्यसपछि थप तीन मिसाइल खसे ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनालाई “लाजमर्दो” भन्दै युद्ध चाँडै सकियोस् भन्ने आशा व्यक्त गरेका छन् । संयुक्त राष्ट्र महासचिवका प्रवक्ताले भने भारत र पाकिस्तान दुवैलाई “अत्यधिक संयम अपनाउन” आग्रह गर्दै अन्तर्राष्ट्रिय समुदायले अर्को सैन्य संघर्षको जोखिम लिन नसक्ने चेतावनी दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट