पाकिस्तानी सेनाको आक्रमणमा तीन भारतीय नागरिकको मृत्यु

भारत–पाकिस्तानबीच बढ्दो सैन्य तनावबीच कश्मीर क्षेत्रमा दोहोरो हमला भएको पुष्टि भएको छ । पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । यसैबीच, भारतको मिसाइल आक्रमणमा दुई बालबालिकासहित सात पाकिस्तानी नागरिकको ज्यान गएको पाकिस्तानी सेनाले बताएको छ ।
समाचार संस्था रोयटर्स र एएफपीले भारतीय सेनालाई उद्धृत गर्दै कश्मीरमा पाकिस्तानी सेनाले गरेको आक्रमणमा तीन भारतीय सर्वसाधारण मारिएको उल्लेख गरेका छन्। त्यसैगरी, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बीबीसीसँगको कुराकानीमा भारतको ‘अपरेशन सिन्दूर’ अन्तर्गतको आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको र एक मस्जिदसहित कैयौं स्थानहरूलाई लक्षित गरिएको बताएका छन्।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतीय हमलाप्रति आक्रोश व्यक्त गर्दै आफ्नो देशले “निर्णायक जवाफ दिने सम्पूर्ण अधिकार राख्ने” बताएका छन्। उनले आक्रमणलाई “कायरता” भन्दै अन्तर्राष्ट्रिय समुदायलाई समेत यसमा ध्यान दिन आग्रह गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस