Techie IT
२०८२ फागुन ४, सोमबार

सुन्तला बिक्री गरेरै श्रेष्ठले कमाए २० लाख


म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष २० लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका छन्। १५ रोपनी क्षेत्रफलमा व्यावसायिक सुन्तलाखेती गर्दै आएका श्रेष्ठले ढिलो टिपेर बजार पठाउँदा सामान्यभन्दा करिब दोब्बर मूल्य पाएका हुन्।

श्रेष्ठद्वारा सञ्चालित ‘अन्नपूर्ण फलफूल तथा तरकारी फार्म’बाट प्रतिकिलो २०० रुपैयाँका दरले काठमाडौँबाट आएका व्यापारीले सुन्तला खरिद गरेका छन्। म्याग्दीमा पुस महिनामा प्रतिकिलो ७० रुपैयाँमै सुन्तला बिक्री भएको थियो।

‘माघ लागेदेखि मूल्य बढ्न सुरु भएर फागुन २ गतेसम्म प्रतिकिलो २०० रुपैयाँ पुगेको हो,’ श्रेष्ठले भने, ‘गत वर्षको तुलनामा उत्पादन ४० प्रतिशतले घटे पनि राम्रो मूल्य पाउँदा आम्दानीमा असर परेन।’ गत वर्ष उनले औसत प्रतिकिलो १०० रुपैयाँका दरले १५ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका थिए।

उनको बगैँचामा रहेका ७०० बोटमध्ये यस वर्ष ३०० बोटमा मात्र फल लागेको थियो। आफ्नो उत्पादनसँगै उनले अन्य किसानको करिब १ करोड ३० लाख रुपैयाँ बराबरको सुन्तला बिक्रीको व्यवस्था पनि मिलाएका छन्।

दोसल्लेका ४२ घरपरिवार किसानले यस वर्ष करिब २ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री गरेको दोसल्ले सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेम पाइजाले जानकारी दिए।

बेनीमा पोल्ट्री र घरजग्गा व्यवसाय गर्दै आएका श्रेष्ठले २०७६ सालमा गाउँ फर्केर सुरु गरेको खेती अहिले उदाहरणीय बनेको छ। जङ्गलछेउको भिरालो पाखोबारीमा सुरु गरिएको फार्ममा हालसम्म करिब ३ करोड ५० लाख रुपैयाँ लगानी भइसकेको उनले बताए।

उनको फार्ममा तीन जनाले नियमित रोजगारी पाएका छन्। सुन्तलासँगै लोकल र बोइलर कुखुरा पनि पालन गरिएको छ। कुखुराको सुलीको मल सुन्तलाका लागि उपयोगी हुने अनुभव उनले सुनाएका छन् ।

काठमाडौँको बल्खुस्थित व्यापारीसँग सिधैँ सम्पर्क गरेर बजार सुनिश्चित गरेपछि उचित मूल्य पाउन सफल भएको श्रेष्ठको भनाइ छ। घरजग्गा व्यवसाय छाडेर कृषि उद्यममा लागेका श्रेष्ठ गाउँ फर्केर कृषि व्यवसाय गर्ने युवाका लागि प्रेरणाका स्रोत बनेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट