के सुन सस्तिदै छ ?
नेपाली बजारमा पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्य प्रतितोला ११ हजार ३०० रुपैयाँले घटेको छ । नेपालीहरूको दोस्रो महान् पर्व तिहारको सार्वजनिक बिदापछि खुलेको बजारमा सुनको मूल्यमा ठूलो उतारचढाव देखिएको हो ।
तिहार बिदाका कारण लगातार केही दिन स्थिर रहेको सुनको भाउ बिदा सकिएर शुक्रबार बजार खुल्नासाथ उच्च दरले ओरालो लागेको हो । शुक्रबार एकैदिन प्रतितोला १२ हजार ६०० रुपैयाँको भारी गिरावट आउँदै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत कात्तिक २१ गते शनिबार प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भएको सुन एक हप्तापछि कात्तिक २७ गते शुक्रबार आइपुग्दा २ लाख ७१ हजार ७०० रुपैयाँमा झरेको छ ।
यसअघि कात्तिक २२ गते आइतबार स्थिर रहेको सुनको मूल्य कात्तिक २३ गते सोमबार प्रतितोला १ हजार ३०० रुपैयाँले बढेर २ लाख ८४ हजार ३०० रुपैयाँ पुगेको थियो । त्यसपछि कात्तिक २४, २५ र २६ गते तिहारको सार्वजनिक बिदा परेकाले कारोबार ठप्प हुँदा मूल्य स्थिर रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आएको गिरावट र तिहार बिदाका कारण लामो समय स्थानीय बजारमा मूल्य समायोजन हुन नसक्दा बिदा खुलेको पहिलो दिन नै भाउ ह्वात्तै घटेको महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्यले जानकारी दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस