Techie IT
२०८३ कार्तिक २९, शनिबार

मिथिलामा छठको रौनक : घाट सिँगारिँदै, माटो र बाँसका सामग्री किन्नेको बजारमा घुइँचो


महोत्तरी । दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आज (शुक्रबार) बाट सुरु भएको चारदिने छठ पर्वका कारण महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल ह्वात्तै बढेको छ। आस्था, निष्ठा र शुद्धताको यस महापर्वको तयारीमा स्थानीयवासी जुटेका छन्।

सूर्यदेव र षष्ठीदेवी (छठीमाता) को महिमा गाइने भक्तिगीत घरघरमा गुञ्जिन थालेपछि मिथिलाको वातावरण यतिबेला पूर्ण रूपमा छठमय बनेको छ। पर्वको तयारीस्वरूप नदीकिनार, पोखरी तथा धार्मिक महत्त्वका जलाशयमा छठघाट निर्माण, सरसफाइ र सजावटको काम तीव्र पारिएको छ। विशेषगरी युवा पुस्ता घाट सिँगार्न सक्रिय देखिएका छन्।

बाँसका भाटा र झिक्राका घरका भित्ता लिपपोत तथा रङरोगन गरी चिटिक्क पारिएका छन् भने सडक, घर र सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गरिएका छन्। धनी–गरिब सबैले आ–आफ्नो गच्छेअनुसार श्रद्धा र निष्ठाका साथ पर्व मनाउने तयारी गरेका छन्।

छठ नजिकिएसँगै स्थानीयको दैनिकी नै पर्वकेन्द्रित बनेको बर्दिबास–१३ बिजलपुरास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव महतो बताउँछन्। उनका अनुसार अहिले गाउँघरमा हुने भेटघाट, कुराकानीदेखि घरायसी कामकाजसमेत छठकै तयारीमा केन्द्रित छन्।

पर्व सुरु भएसँगै मिथिला क्षेत्रका हाटबजारमा पूजासामग्री किन्नेको घुइँचो लागेको छ। केराका घरीसहित पूजामा चाहिने सामग्रीको व्यापार चम्किएको छ। स्थानीय किसानले उखुका लाँक्रा, अदुवा, बेसारका बोट, ज्यामिर र जटासहितका नरिवल बजारमा ल्याउने तयारी गरेका छन्। जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीका अनुसार यस्ता कृषि उपजको मुख्य कारोबार भोलि (शनिबार) हुनेछ।

छठमा नयाँ भाँडाकुँडा प्रयोग गर्ने परम्परा रहेकाले बाँसका चोया र कप्टेराबाट बनेका ढकी, डलिया, कोनियाँ, नाङ्लो, चाल्नो र पङ्खाको बिक्री ह्वात्तै बढेको छ। यस्तै, बत्ती बाल्ने दियो, दही जमाउने छ्याँची, पूजासामग्री राख्ने टौला, अङ्खरा र गाग्रीलगायत माटाका भाँडाको माग पनि उच्च छ।

घरघरमा छठको विशेष प्रसाद ठकुवा र भुसुवा तयार गर्ने चटारो सुरु भएको छ। शुद्धता र पवित्रतालाई विशेष ध्यान दिइने भएकाले चामल र गहुँको पिठो घरमै ढिकी र जाँतोमा कुट्ने तथा पिँध्ने परम्परा अझै कायम छ। मिथिलानी (मिथिलाका महिला) हरू परिवारका सदस्यको सहयोगमा प्रसाद तयार गर्न व्यस्त छन्। भङ्गाहा–४ रामनगरकी ५५ वर्षीया शान्तिदेवी साह छठको तयारीमा निष्ठा र शुद्धता नै सबैभन्दा महत्त्वपूर्ण पक्ष रहेको बताउँछिन्।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने छठको पहिलो दिन आज ‘नहाय–खाय’ विधि गरिँदैछ। दोस्रो दिन शनिबार ‘खरना’ गरिनेछ भने तेस्रो दिन आइतबार व्रतालुले अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्नेछन्। चौथो दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ।

छठ पर्वले सामाजिक सद्भाव र एकतालाई समेत बलियो बनाउने गरेको छ। पुराना मनमुटाव बिर्सेर सबै एकै ठाउँमा भेला भई सूर्यदेवको आराधना गर्ने तथा छठघाटमा जातीय वा सामुदायिक विभेदबिना एउटै लहरमा बसेर पर्व मनाउने अनुपम परम्परा छ। धार्मिक आस्थासँगै पर्वको सामूहिक तयारीले मानिसलाई विनम्र र सहयोगी बनाउने स्थानीयको विश्वास छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट