Techie IT
२०८३ कार्तिक ३०, आइतबार

भेन्टिलेटरमा छट्पटाइरहेका प्रश्नहरूलाई नयाँ जीवन देऊ

जुनसुकै समाजको सबैभन्दा ठूलो पाप भनेको आफ्ना प्रश्न गर्ने सन्तानलाई मार्नु हो


अहिले नेपालको राजनीति र सामाजिक रुपमा आफ्नो एजेन्डा स्थापित गर्न सुरुमा दुई-चारवटा शब्द डिजाइन गरिन्छन्। ती शब्दहरू यति सरल र दोहोर्याइलाग्दो बनाइन्छन् कि आम मानिसले 'किन? कहाँ?' सोच्न सम्म पनि सक्दैन। सतहको नकारात्मकता मात्र देखाइन्छ। अनि जरादेखि मास्ने काम गरिन्छ। यति बेलासम्म समाजको धैरैजसो मानिसहरू त्यही दुई-चार शब्दको कुलतमा फसिसकेको हुन्छन्। 

मानिस प्लेटोले गुफाको कथा (Allegory of the Cave) मा भनेजस्तै हुन्छ, जहाँ गुफाभित्रका मानिसहरूले पर्खालमा परेको छायाँ मात्र देख्थे, र त्यही छायाँलाई सत्य ठान्थे। तर आजकल समयको गुफा अझै व्यवस्थित बनाइएको छ, छायाँ मात्र होइन, छायाँको नाम पनि डिजाइन गरिएको छ। मानिसहरूसँग आफ्नो विचार मर्दै गएको छ। बहस गर्ने, प्रश्न गर्ने क्षमता हराउँदै गएको छ, डेकार्टेसले भनेका थिए 'म सोच्दछु, त्यसैले म अस्तित्वमा छु।' तर अहिलेको समयको दर्शनले सोच्नुलाई नै जोखिमको रूपमा परिभाषित गरेको छ। किनभने जो सोच्छ, उसले प्रश्न सोध्छ, र अस्तित्वमा रहन्छ। तर आज मानिस शारीरिक रूपमा त छ, तर मानवीय चरित्र अस्तित्व संकटतर्फ जाँदै छ। 

विचारका पाठशालाहरू जहाँ असहमति पनी  सजिलै  हुर्किन्थ्यो, जहाँ 'किन' भन्ने बानी लाग्थ्यो, ती क्रमश बन्द हुँदै छन्। मानिस अर्धज्ञानको सर्वज्ञानी (Dunning-Kruger Effect को सिकार) बन्दै गएको छ । मानिसहरू केवल भन्न लगाइएको कुरा दोहोर्‍याइरहेका छन् र आफूलाई नै सबैभन्दा ठूलो ज्ञाता ठानिरहेका छन्। यो ज्ञानको भ्रम नै अज्ञानको सबैभन्दा घातक रूप हो आज।

सुकरातले भनेका थिए 'म एउटा कुरा मात्र जान्दछु, त्यो के भने म केही जान्दिन।' कियर्केगार्डले भनेका थिए, “जीवन पछाडितिर मात्र बुझ्न सकिन्छ, तर अगाडितिर बाँच्नुपर्छ।” अनि जब कसैले गहिरो बुझ्न थाल्छ, तब सोच्छ  कि मैले केही बुझेको रहेनछु, म ठूलो भ्रममा रहेछु। तर यो बुझाइ आइपुग्दा धेरै ढिलो भइसकेको हुन्छ, बोल्ने ठाउँ बाँकी रहँदैन, प्रश्न गर्ने ढोकाहरू बन्द भइसकेका हुन्छन्। त्यति बेलासम्म एउटा मात्र कुरा बाँचेको हुन्छ मानिससँग, र त्यो हो शून्यता, जसलाई मानिसले शान्ति भनिरहेको हुनेछ । 

तर, जब विचार मर्छ, तब यस्तो शान्ति आउँछ अनि त्यो शान्ति चिहानको शान्ति जस्तो हुन्छ। जहाँ हावा चल्छ, फूल फुल्छन्, ढुङ्गा टल्किन्छन्, तर कोही बोल्दैन। कोही कराउँदैन। त्यो शान्ति मरेकाहरूको शान्ति हुन्छ। जिउँदो अस्तित्व त हावाको झोक्कासँगै प्रस्फुटित हुन खोज्छ। प्रश्न सोध्न मन लाग्छ। तर हामीले यी सबै छट्पटाइरहेका आवाजहरूलाई नै अशान्ति भन्दैछौं। अनि विचार मारेर ल्याइएको त्यो चिहानको शान्तिलाई समाधान भन्दैछौं। नित्सेले भनेका थिए, “जुनसुकै समाजको सबैभन्दा ठूलो पाप भनेको आफ्ना प्रश्न गर्ने सन्तानलाई मार्नु हो।” तर आजकल हामीले हत्यालाई पनि व्यवस्थित बनाएका छौं, हत्या अब चिच्याएर हुँदैन, यो चुपचाप हुन्छ, ढोका बन्द गरेर, एउटा शब्द डिजाइन गरेर।

जुनसुकै समाजको सबैभन्दा ठूलो पाप भनेको आफ्ना प्रश्न गर्ने सन्तानलाई मार्नु हो। हत्या अब चिच्याएर हुँदैन, यो चुपचाप हुन्छ, ढोका बन्द गरेर, एउटा शब्द डिजाइन गरेर।

अहिले, हामी यस्तो बिन्दुमा छौं, जहाँ विचार मर्दै छ। विचारको अन्तिम सास चलिरहेको छ। कतै कतै अझै पनि प्रश्न सोध्नेहरू छन्, तर उनीहरूको आवाज दिनानुदिन कमजोर हुँदै छ। गुफाको पर्खालमा छायाँहरू अझै पनि नाचिरहेका छन्, हेर्नेहरूको आँखा भने धमिलिँदै छन्। 

भविष्यमा, यदि यही चक्र जारी रह्यो भने केही वर्षपछि, हामी सबै त्यो चिहानको शान्तिमा हुनेछौं। तर चिहानमा मृतकहरू हुनेछन्, शोक गर्नेहरू होइनन्। किनभने शोक गर्न विचार चाहिन्छ, र विचार त्यतिबेलासम्म पूरै मरिसकेको हुनेछ। मानिसहरू हिँड्नेछन्, बोल्नेछन्, काम गर्नेछन्, तर ती सबै मृत शरीरहरू हुनेछन् जसलाई हामीले जिउँदो लाश भनौंला सायद। 

बहसहरू हुनेछैनन्, किनभने बहस गर्न कोही बाँकी हुनेछैन। प्रश्नहरू शब्दकोशबाट हराउनेछन्। र सबैभन्दा डरलाग्दो के हुनेछ भने त्यो अवस्थालाई मानिसहरूले 'प्रगति' र 'शान्तिको स्वर्णयुग' भन्नेछन्। नित्सेको त्यो उक्ति पूरा हुनेछ, ती मानिसहरूले आफैंलाई मुक्त भएको ठान्नेछन्, तर उनीहरूको पिंजडा ढोका खुला छ भन्ने मात्र पनि थाहा हुनेछैन किनभने उनीहरूले ढोका देख्नै छोडिसकेका हुनेछन्। त्यसैले, प्रश्न गर्नेहरू अझै पनि भेन्टिलेटरमा अन्तिम सास फेर्दै छन् तिनलाई बचाउनुपर्छ, किनकि प्रश्न मार्नु भनेको अस्तित्वकै हत्या गर्नु हो। प्रश्नविहीन मानिस केवल जीवित लाश हो, जो बाँचेर पनि कुनै अस्तित्व हुँदैन।


 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट