पोखरामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी तथा कला शिविर आयोजना
                                                        बुद्धिज एटलियर र आइडब्लुएस हेमकान्ति आर्ट ग्यालरी पोखराको संयुक्त आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी तथा कला शिविर कार्यक्रम सञ्चालन भइरहेको छ। यही कात्तिक २१ गतेदेखि सुरु भएको यो कार्यक्रम कात्तिक २५ गतेसम्म चल्नेछ। कार्यक्रम पोखराको नयाँ बजार स्थित गण्डकी प्रदेश सङ्ग्रहालयमा भइरहेको छ।
पहिलो दिन कलाकारहरूले आफ्नो कला प्रदर्शनी गरेका थिए भने दोस्रो दिन वरिष्ठ कलाकार आटानुर डोगनले पानी रङमा चित्र बनाउने अभ्यास विद्यार्थीहरूलाई गराएका थिए ।
आज सहभागी कलाकारहरूले पोखराको बेगनास ताल, माझी कुनासहित गन्धर्व गाउँको अवलोकन भ्रमण गरेका छन्। भोलि कास्कीको पर्यटकीय गाउँ धम्पुसमा चित्रकला कार्यशाला हुनेछ भने अन्तिम दिन कात्तिक २५ गते कार्यक्रम समापन गरिनेछ।
उद्घाटन समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति एवं वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले चित्रकला पुरानो विधा भएको उल्लेख गर्दै कलाको माध्यमबाट पोखराको पर्यटनलाई विश्वभर फैलाउन सकिने बताए ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले प्रदेशमा कला प्रवर्द्धन तथा कलाकारको संरक्षणमा प्रतिष्ठानले काम गरिरहेको जानकारी दिनुभयो।
आयोजक हेमकान्ति आर्ट ग्यालरीका सञ्चालक हेमकान्ती गुरुङले नेपालका कला क्षेत्रको विकासका लागि यो कार्यक्रम सानो प्रयास भएको बताउँदै यस किसिमका कार्यक्रम सरकारी पहलबाट पनि हुनुपर्ने धारणा राखे । कार्यक्रममा बुद्धिज एटलियरका संस्थापक अध्यक्ष बुद्धि गुरुङ, सञ्चारकर्मी मधु अधिकारी लगायतले कार्यक्रमको महत्त्वबारे आ-आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
प्रसिद्ध कलाकार आटानुर डोगनले पोखरा प्राकृतिक रूपमा धनी र रंगीन भएको उल्लेख गर्दै यस ठाउँमा चित्रकलाका लागि असीम सम्भावना रहेको बताए।



    
तपाईको प्रतिक्रिया दिनुहोस