यात्रुले भरिएको ट्रेन प्लेटफर्ममा रुसको घातक ड्रोन आक्रमण
युक्रेनको निप्रोस्थित रेलवे स्टेसनमा रुसले गरेको घातक ड्रोन आक्रमणमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने एक ११ वर्षीय बालकसहित अन्य १३ जना गम्भीर घाइते भएका छन्।
युक्रेनी अधिकारीहरूका अनुसार जेट इन्जिनयुक्त रुसी ड्रोनले सर्वसाधारणको बाक्लो उपस्थिति रहेको स्टेसनको प्लेटफर्मलाई सोझै निशाना बनाएको थियो। आक्रमणको समयमा यात्रुहरू जापोरिजियातर्फ जाने तयारीमा रहेको रोकिराखिएको ट्रेनमा चढ्न पर्खिरहेका थिए। भीषण विस्फोटका कारण ट्रेनमा समेत क्षति पुगेको छ।
नागरिक आवागमनका साथै अत्यावश्यक सामग्री ढुवानीका लागि महत्त्वपूर्ण मानिने युक्रेनको रेल सञ्जालमाथि रुसले लगातार आक्रमण गर्दै आएको छ। घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै युक्रेनका लागि संयुक्त राष्ट्रसङ्घका मानवीय संयोजक म्याथियास स्मालेले मारिनेका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।
उनले यात्राको तयारीमा रहेका, आफन्तलाई बिदाइ गर्न वा स्वागत गर्न आएका सर्वसाधारणले यसरी ज्यान गुमाउनुपर्नु र विस्थापितहरू स्तब्ध हुनु अत्यन्तै दुःखद भएको बताए। युक्रेनी रेल सञ्चालकको तथ्याङ्क अनुसार रेलवे पूर्वाधारमाथिका आक्रमण सन् २०२५ मा १,२०६ वटा रहेकामा यस वर्ष बढेर १,७०० पुगिसकेको छ। अन्तर्राष्ट्रिय मानवीय कानुन अनुसार सर्वसाधारण र नागरिक पूर्वाधारको सुरक्षा हुनुपर्नेमा स्मालेले जोड दिएका छन्।
यसैबीच, अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको पहलमा २४ अक्टोबरमा घोषणा भई नोभेम्बर १ सम्म कायम रहने स्थानीय युद्धविरामको फाइदा उठाउँदै रुसी कब्जामा रहेको खेरसोन क्षेत्रको ओलेस्की नगरमा मानवीय सहायता सामग्री पठाउने तयारी तीव्र पारिएको छ।
युक्रेनका मानवअधिकार आयुक्त दिमित्रो लुबिनेट्स आफैँ ओलेस्की पुगेर त्यहाँका बासिन्दाको उद्धारमा सघाउने तयारीमा छन्। बारुदी सुरङ (Mines) ले घेरिएका कारण लामो समयदेखि थन्किएका २०० देखि ३०० स्थानीय बासिन्दा बाहिरिने अपेक्षा गरिएको छ भने अझै १,००० भन्दा बढी मानिसहरू त्यहीँ रहने अनुमान छ। संयुक्त राष्ट्रसङ्घले युक्रेन सरकारको नियन्त्रणमा रहेका क्षेत्रमा आइपुग्ने विस्थापितहरूलाई खाद्य, आवास तथा मानसिक स्वास्थ्य सम्बन्धी सहायता उपलब्ध गराउने जनाएको छ।
Source: UNnews



तपाईको प्रतिक्रिया दिनुहोस