निर्वाहमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्छ: मुख्यमन्त्री भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले ‘सुदूरपश्चिम नवउद्यमी सम्मेलन’ लाई केवल समन्वयात्मक कार्यक्रम मात्र नभई प्रदेशको भविष्य निर्माण गर्ने सोच, सम्भावना र दृढ संकल्पका रूपमा लिएको बताएका छन्।
सुदूरपश्चिम विश्वविद्यालय इन्क्युबेसन सेन्टरद्वारा कैलाली बहुमुखी क्याम्पस, धनगढीमा आयोजित उक्त सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले परिणाममुखी व्यावसायिक योजना निर्माण गरी निर्वाहमुखी अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका हुन्। यस महान् अभियानका लागि सुदूरपश्चिम प्रदेश सरकार सधैँ प्रतिबद्ध र एकताबद्ध रहने उनले प्रतिबद्धता व्यक्त गरे।
सुदूरपश्चिमको मात्र नभई समग्र देशकै अर्थतन्त्र जोखिममा रहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले अब विकास निर्माणको परम्परागत मोडल परिवर्तन गर्नुपर्ने टड्कारो आवश्यकता औँल्याएका थिए । उनले नवीन सोच र नवप्रवर्तनमा आधारित आयोजनाहरू सञ्चालन गरी थलिएको आर्थिक गतिविधिलाई चलायमान बनाउनुपर्ने बताए।
जलवायु परिवर्तनका कारण उत्पन्न हुने बाढी, पहिरो तथा अन्य विपद् र मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जना भएको आर्थिक मन्दीलगायतका बहुआयामिक चुनौतीले अर्थतन्त्रमा गहिरो असर पारिरहेको उनको भनाइ थियो। यस्ता संकट र चुनौतीको डटेर सामना गर्दै अर्थतन्त्रलाई पुनर्जीवन दिने र आर्थिक समृद्धिमा योगदान पुर्याउने कार्यक्रम ल्याउनु आजको मुख्य आवश्यकता भएको उनले बताए।
सुदूरपश्चिमलाई समृद्ध बनाउने अभियानमा प्रदेश सरकार स्पष्ट नीति, नियम तथा कार्ययोजना निर्माणमा केन्द्रित रहेको मुख्यमन्त्री भट्टले जानकारी दिए। उनले निजी क्षेत्र र गैरसरकारी क्षेत्रसँगको फलदायी साझेदारीसहित विकासका विभिन्न प्रक्रियामा सहकार्य गर्न प्रदेश सरकार सधैँ खुला रहेको स्पष्ट पारेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस