आज कुन कुन सडक अबरुद्ध छन् ?
देशभर जारी वर्षाका कारण उत्पन्न बाढी, पहिरो र सडक कटानका कारण प्रमुख राजमार्गसहित एक दर्जनभन्दा बढी सडकखण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै जोखिमपूर्ण क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रहरीको तथ्याङ्क अनुसार बाढी र पहिरोको उच्च जोखिम रहेका केही मार्गमा रात्रिकालीन समयमा सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ भने कतिपय स्थानमा यातायात पूर्ण रूपमा ठप्प बनेको छ।
काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बाढीको उच्च जोखिमलाई मध्यनजर गर्दै बेलुका ६:00 बजेदेखि बिहान ४:00 बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। यद्यपि, दिनको समयमा (बिहान ४:०० देखि बेलुका ६:०० बजेसम्म) भने सवारी साधन सञ्चालनको व्यवस्था मिलाइएको छ। त्यस्तै, कान्ति लोकपथमा पनि सुरक्षा सतर्कता अपनाउँदै बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी आवागमन निषेध गरिएको छ।
पूर्ण रूपमा बन्द सडकखण्डहरू
मेची राजमार्ग (इलाम): इलाम नगरपालिका–९ राजदुवालीमा सडक पूर्ण रूपमा हिलाम्मे भएपछि यातायात ठप्प भएको छ (वैकल्पिक मार्ग भने सञ्चालनमा छ)।
अरनिको राजमार्ग (सिन्धुपाल्चोक): भोटेकोशी गाउँपालिकाअन्तर्गत जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै सडक भासिएका कारण यातायात अवरुद्ध छ।
लामासाँघु–रामेछाप सडक (दोलखा): तामाकोशी गाउँपालिका–५ किर्नेटारमा तामाकोशी खोलाले सडक कटान गरेपछि यातायात रोकिएको छ (खिम्ती ग्रामीण विद्युत् सहकारीको कार्यालय परिसरबाट वैकल्पिक मार्ग खुलाइएको छ)।
अन्य मुख्य मार्गहरू: रसुवाको पासाङ ल्हामु सडक, मुगुको नाग्म–गमगढी सडक, बागलुङको कालीगण्डकी करिडोर (बेलबगर), रुकुम पश्चिमको भेरी करिडोर (रिजेगार्ड खोला), मुस्ताङ र म्याग्दीका विभिन्न खण्डमा पर्ने बेनी–जोमसोम सडक तथा गुल्मीको मदन भण्डारी सडकखण्ड (रुरुक्षेत्र–४ लेख) सुक्खा पहिरो र बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन्।
वर्षायाममा जुनसुकै बेला पहिरो खस्ने, बाढी आउने तथा सडक भासिने जोखिम कायम रहने भएकाले अनावश्यक यात्राबाट बच्न र अति आवश्यक परिआएमा सम्बन्धित निकाय वा नजिकैको प्रहरी कार्यालयबाट सडकको ताजा अवस्था बुझेर मात्र यात्रा गर्न नेपाल प्रहरीले अपिल गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस