पहिचान नभएका २ सय २९ वटा शव गाडिने
रसुवाको बाढीले बगाएर चितवन पुर्याएकामध्ये पहिचान हुन नसकेका २ सय २९ वटा शव जमिनमुनि गाडेर व्यवस्थापन गर्ने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले बाढीमा परी ज्यान गुमाएका तर सनाखत हुन नसकेका शवहरूबाट भयानक महामारी फैलिने उच्च जोखिम बढेपछि यस्तो कडा तथा बाध्यकारी निर्णय लिएको हो।
जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णयअनुसार संकलित शवहरूमध्ये अहिलेसम्म ४ वटाको मात्रै पहिचान खुलेको छ। होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी किनारबाट संकलित अन्य शवहरू अत्यधिक सडेर गलेको र दुर्गन्धका कारण स्वास्थ्य संकट आउन सक्ने चेतावनी स्वास्थ्य विज्ञहरूले दिएका थिए। विज्ञहरूको यही राय र विश्लेषणका आधारमा शवहरूको सुरक्षित व्यवस्थापन गर्नुपर्ने अवस्था सिर्जना भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन्।
भविष्यमा आफन्तले शव पहिचान गर्न सहज होस् भनी प्रत्येक शवको डिएनएको नमुना सुरक्षित राखिनेछ। सङ्केत नम्बरका आधारमा विस्तृत अभिलेख तयार गरेर शवहरूको अन्तिम संस्कार भरतपुर महानगरपालिका–१ स्थित देवघाटको खुला क्षेत्रमा जमिनमुनि गाडेर गरिने प्रशासनले स्पष्ट पारेको छ।
परिस्थितिका कारण यो कदम चाल्नुपरेको भन्दै जिल्ला प्रशासन कार्यालयले पीडित परिवारजनमा पर्न गएको असह्य पीडा र असुविधाप्रति क्षमायाचना समेत गरेको छ।




तपाईको प्रतिक्रिया दिनुहोस